भोजपुर – सरकारले देशभर दादुरा रुवेलाविरुद्धको खोप अभियान सञ्चालन गर्ने निर्णय गरेसँगै पहाडी जिल्ला भोजपुरमा पनि यसका लागि आवश्यक तयारी थालिएको छ।
भोजपुरमा आगामी फागुन २४ देखि २८ गतेसम्म खोप अभियान सञ्चालन हुने गरी स्वास्थ्य कार्यालयले तयारी अघि बढाएको छ। कार्यालयले सरोकारवाला निकायसँग छलफल गरी अभियानका लागि आवश्यक तयारी गरिरहेको स्वास्थ्य कार्यालय भोजपुरका प्रमुख डा. रमेश खनालले बताए।
खोप अभियान सफल बनाउन जिल्ला समन्वय प्रमुख तथा जिल्ला खोप समन्वय समितिका अध्यक्ष कमल थुलुङ राईको अध्यक्षतामा छलफल गरिएको थियो। छलफलमा खोप अधिकृत भरत भण्डारीले अभियानबारे विस्तृत जानकारी दिएका थिए।
सरकारले २०२६ सम्म दादुरा रुबेला निवारण गर्ने लक्ष्य लिएको छ। भोजपुरमा ६ महिनादेखि १५ वर्ष मुनिका १२ हजार ६० जना बालबालिकालाई खोप लगाउने लक्ष्य छ।
दादुरा-रुवेला सबैभन्दा बढी सङ्क्रामक रोग मध्येको एक हो। यसको सङ्क्रमण एक बिरामीले १८ जनासम्मलाई सार्न सक्ने जोखिम रहन्छ।



