अन्तर्वार्तायुवालाई रोजगारीमा जोड्ने पहलमा पीसीटीभीईटी (अन्तर्वार्ता)

युवालाई रोजगारीमा जोड्ने पहलमा पीसीटीभीईटी (अन्तर्वार्ता)

हेटौँडा | नेपालको भविष्य युवाहरूमा निर्भर छ। तर प्रतिवर्ष, हजारौं शिक्षित युवा रोजगारीको खोजीमा विदेशिन्छन् वा देशभित्रै बेरोजगारीको चुनौती बेहोर्छन्। यो केवल व्यक्तिगत समस्या होइन, देशको लागि ठूलो जनशक्तिको क्षय हो। यसै चुनौतीलाई सामना गर्ने लक्ष्यले बागमती प्रदेशले २०७५ सालमा प्रदेश प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (पीसीटीभीईटी) को स्थापना गर्यो।  २०८२ साल आइपुग्दा, यो परिषद्ले के कस्तो प्रगति गरेको छ? केही महिना अघि मात्र नियुक्त भएकी नयाँ कार्यकारी निर्देशक शान्ति लामाको योजना के के छ? र भविष्यमा यो संस्था कसरी अगाडि बढ्ने छ?  यसै विषयमा, परिषद्का कार्यकारी निर्देशक शान्ति लामासँग हाम्रा सम्वाददाता सागर बोहोराले गरेको अन्तर्वार्ताको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

सारमा: पीसीटीभीईटीकी कार्यकारी निर्देशक शान्ति लामाका अनुसार प्रदेशले यसका लागि विभिन्न तालिम कार्यक्रम सञ्चालन गर्दै आएको छ, केही युवालाई रोजगारीमा जोडिसकेको छ र केही जोडिने क्रममा छन्। आगामी दिनमा अझ बढी युवालाई दक्ष बनाउँदै रोजगारसँग जोड्ने, स्थानीय स्रोतसाधनको सदुपयोग गर्ने र विदेशिने प्रवृत्तिलाई घटाउने योजना बनाइएको छ, जसले युवाशक्तिको पूर्ण क्षमता प्रयोग गर्दै प्रदेशको आर्थिक समृद्धिमा योगदान पुर्‍याउने उद्देश्य राखेको छ। ‘माग अनुसार सिप’ र ‘रोजगारमै आधारित शिक्षा’ को अवधारणालाई केन्द्रमा राखेर गरिँदै गएका कार्यक्रमहरूले अबको पुस्तालाई विदेशिनु वा बेरोजगार हुनु बाहेकको विकल्प दिँदैछ। स्थानीय सरकारसँगको कार्यशाल समन्वय, निजी क्षेत्रको सहभागिता र युवाको उत्सुकतालाई जोड्दै यो संस्थाले अगाडि बढेको छ। चुनौतीहरू छन्, गुनासाहरू छन्, तर नीतिगत रूपमा सिपलाई प्राथमिकता दिँदै, डिजिटल प्रणाली अपनाउँदै र जवाफदेहिता बढाउँदै गएको यो प्रयास भबिष्यमा थप राम्रो परिणाम दिने आशा गरिन्छ। अन्ततः, युवा नै देशको धरोहर हुन् भन्ने विश्वासलाई मूर्त रूप दिने काम सिटिभेटले निरन्तरता दिएको छ।

सागर बोहोरा: नयाँ वर्षको कार्ययोजना के के रहेको छ?

शान्ति लामा: गत आर्थिक वर्षमा हामीले युवाहरूको लागि सीपमूलक कार्यक्रम सञ्चालन गरेका थियौं। त्यही कार्यक्रमलाई निरन्तरता दिदै, नीतिगत रूपमा सबलिकरण गर्नका लागि र ऐन तथा नियमावलीले तोकिएका थप जिम्मेवारीहरू अगाडि बढाउनका लागि हामीले विभिन्न कार्यक्रमहरू बजेटमा राखेका छौं।

बोहोरा: सीपमूलक शिक्षाको प्रभाव कस्तो पर्दो रहेछ? अघिल्ला वर्षहरूको अनुभव के रह्यो?

लामा: सीपमूलक कार्यक्रम भनेको जीविकोपार्जनका लागि अति आवश्यक कुरा हो। हाम्रो मनस्थिति र सोच भनेको प्राविधिक शिक्षालाई वैकल्पिक शिक्षाको रूपमा हेरिएको सन्दर्भमा, आवश्यक पर्ने सीपको लागि हामीले बागमती प्रदेशभरिका २६ सय ६० जना युवालाई छोटो अवधिको तालिम दियौं। उहाँहरूको यसै वर्ष राष्ट्रिय सीप परीक्षण बोर्डसँग सम्बन्ध गरी सीप परीक्षण गरिसकेका छौं। उहाँहरूको नतिजा आउने तयारीमा छ। साथै, मैले जोड्न चाहने कुरा के हो भने, छोटो अवधिको सीप लिइसकेका युवाहरूमध्ये केही रोजगारमा जोडिइसकेका छन् भने कतिपय जोडिइने क्रममा छन्। यो सीप लिइसकेपछि दक्ष भइसकेपछि बेरोजगारी हुन नपर्ने हामीले देखेका छौं।

बोहोरा: के चुनौतीहरू देख्नुभयो र तिनको समाधान कसरी खोज्नुभयो?

लामा: आफ्नो आवश्यकता भन्दा युवासाथीहरू चाहनातिर जादो रहेछ भन्ने बुझ्यौं। कुन विषय क्षेत्रमा आम्दानी हुन्छ र बजारले के खोजिरहेको छ भन्ने कुरा निकाल्न नसकेको हो कि जस्तो लाग्छ मलाई। हामीसँग घर-घरमा मोटरसाइकल त छ तर मोटरसाइकल सिपेयरिङ गर्ने जनशक्ति नभएको, हामीले तालिम दिदा पनि इच्छा नदेखाउने, सुकिलो-मुकिलो खालका सीप मात्र रोज्ने, बुझाउन र सम्झाउन गाह्रो भएको थियो। रोजगार क्षेत्रमा वर्तमानमा यस्ता सीपको आवश्यकता छ भन्ने बुझाउन र सम्झाउनमा समय लाग्यो र ढिला भएको हो कि जस्तो लाग्छ।

बोहोरा: पीसीटीभीईटी र स्थानीय तहबीचको समन्वय कसरी कायम गर्नुभएको छ?

लामा: हामीले सबै कार्यक्रम विभिन्न मोडालिटीमा गरेका छौं। मन्त्रालयबाटै हामीले आफैंले केही कार्यक्रम सञ्चालन गरेका छौं। केही हाम्रा १८ वटा आंगिक शिक्षालयहरूबाट गर्यौं, केही सेवा परामर्श गर्यौं। स्थानीय तहसँग पनि लागत साझेदारीमार्फत कार्यक्रम चलायौं। उहाँहरूसँग लागत साझेदारीमा चलाएको कार्यक्रम ४०/६० को अनुपातमा थियो। काम कसरी चलाउने? सहभागी छनौटदेखि लिएर सबै अख्तियार उहाँहरूकै थियो। साथै, अन्य माध्यमबाट चलाएको तालिममा पनि उहाँहरूलाई संलग्न गराएको छ। पालिका प्रमुख/उपप्रमुखको जानकारी बिना, सम्बन्धित तहको सिफारिस बिना तालिम चलाएका छैनौं र उहाँहरूको सिफारिस बिना भुक्तानी पनि लिएका छैनौं। यसरी स्थानीय तहसँग हामीले साझेदारी गरेका छौं। उहाँहरूको सहयोग विना कार्यक्रम कार्यान्वयन गर्न सक्दैनौं।

बोहोरा: रामेछापको उमाकुण्ड, सिन्धुलीको फिकल वा दोलखाको कालिन्चोक जस्ता विकट गाउँपालिकाहरूमा कसरी तालिम पुगाउनुभएको छ? त्यहाँका युवालाई के सिकाउनुभयो?

लामा: हामी त्यहीँ ठाउँमा पुग्नुभन्दा पनि एउटा प्रक्रिया छ। त्यो प्रक्रियामा हामीले ११९ वटै स्थानीय तहलाई लक्षित गरी सूचना आह्वान गर्छौं । हामी यो विधिबाट कार्यक्रम चलाउँछौं भनेर मन्त्रालयको वेबसाइट तथा सामाजिक सञ्जालमा, हाम्रो पीसीटीभीईटीको वेबसाइटमा सूचना आह्वान गर्छौं। र त्यो सूचनाको आधारमा उहाँहरूले प्रस्ताव पेश गर्नु हुन्छ। त्यो प्रस्तावको आधारमा हामीले उहाँहरूसँग कार्यक्रम गर्छौं। यसपटक जुगल गाउँपालिका, राक्सीराङ गाउँपालिकामा पुगेका थियौं। हामीले दुर्गम/सुगम भनेर हेर्दैनौं, जहाँ सीपको माग छ, त्यहाँ पुगेका हुन्छौं। आगामी योजना पनि त्यसरी नै गर्छौं ।

बोहोरा: महिला, दलित, सीमान्तकृत, जनजाति तथा पछि परेका वर्गका लागि विशेष योजना के छन्?

लामा: जुन भूगोल, जिल्ला, पालिका तथा समुदायमा जान्छौं, त्यहाँ कसको सहभागिता, उपस्थिति, बस्ती र पृष्ठभूमिको अवस्था कस्तो छ भन्ने कुरामा उहाँहरूलाई नै प्राथमिकता दिन्छौं। यही क्षेत्रलाई मात्र भन्ने होइन। युवालाई नै लक्ष्यित गरेका छौं। माग आधारमा, जहाँ आवश्यकता र माग छ, त्यसलाई लक्ष्यित गरेर कार्यक्रम गरेका छौं।

बोहोरा: लैङ्गिक समावेशिताको दृष्टिकोणले के विशेष पहल गर्नुभएको छ?

लामा: लैङ्गिक समावेशिताको हिसाबले म जहाँ जहाँ जान्छु, त्यहाँ स्थानीय सरकारसँग समन्वय गर्दा, त्यहाँको लैङ्गिकता, उपस्थिति, समावेशिता, अर्थपूर्ण उपस्थिति र सहभागिता कतिको छ भन्ने खोजी गर्छु। त्यहाँको माग के छ? मागको आधारमा जानु पर्छ। स्थानीय तहले समेटेको छ कि छैन? महिलाहरूलाई, युवाहरूलाई, अपाङ्गता भएकाहरूलाई, लक्षित वर्गलाई। हामीले कार्यक्रम ल्याउदा स्थानीय तहको नीति, कार्यक्रम, बजेटसँग कसरी जोडिन सक्छौं भन्ने कुरा म प्रत्यक्ष रूपमा उहाँहरूको भूगोलमा पुगेर वा उहाँहरू आउँदा यी कुराहरू बढावा दिने गर्छु ।

बोहोरा: बागमती प्रदेशको नयाँ सीप र भावी रणनीतिबीच कस्तो समन्वय छ?

लामा: भावी योजना भनेको भइरहेको कुरालाई निरन्तरता दिइरहने र सीपलाई प्रमोट गर्ने हो। दक्ष जनशक्तिहरूले काम गरिरहेका छन्, तर उहाँहरूलाई प्रमाणित गरेको छैन, सर्टिफिकेट दिएको छैन। उहाँहरूलाई सर्टिफिकेट दिएर सीपसँग जोड्ने, रोजगारसँग जोड्ने, हाम्रो नीति, कार्यक्रम र बजेट छ। यो सरकारले जोडेका कुराहरूमा युवा लक्षित कार्यक्रमहरू पनि छन्। यो छोटो अवधिको मात्र होइन।

हामीसँग २४ महिने औद्योगिक लक्षित कार्यक्रम सञ्चालनमा छ। गत आर्थिक वर्ष यस अन्तर्गत ४६० जना प्रशिक्षार्थी थिए भने, हाल २०८१/८२ मा हामीसँग ५७८ जना विद्यार्थी छन्।  यस कार्यक्रमको संरचना यस्तो छ: पहिलो ५ महिना विद्यार्थीहरू शिक्षालयमै सिद्धान्त (थियोरी) र प्रयोगात्मक (प्र्याक्टिकल) कक्षा सिक्छन्। बाँकी १९ महिना उनीहरू सीधै औद्योगिक क्षेत्रका संस्थाहरूमा जान्छन् र काम गर्छन्। यस अवधिमा उनीहरूले सिक्नुका साथै कमाउन पनि पाउँछन्। साउन २०८१ देखि जेठ २०८२ सम्म (कार्यक्रमको १९ महिना अवधिमा) उनीहरूले नेपाल कानुनमा परिभाषित न्यूनतम मजदुरीको २५ प्रतिशत आम्दानी गर्ने छन्।  यसैगरी, यसै आर्थिक वर्षको लागि हामीले ३०० जना नयाँ औद्योगिक प्रशिक्षार्थीको लागि सूचना आह्वान गरिसकेका छौं। हामीसँग ३०० जनाको कोटा मात्र भए तापनि, १६ वटा शिक्षालयहरूबाट ७४० जना प्रशिक्षार्थीको माग (डिमान्ड) भएको छ, जसले यस कार्यक्रमप्रतिको ठूलो रुचि र आवश्यकतालाई जनाउँछ।

यो कार्यक्रम पूर्ण रूपमा रोजगारीमा आधारित छ र युवासँग जोडिएको छ। हाम्रो लक्ष्य युवाहरूको सोचमा परिवर्तन ल्याउनु हो। प्राविधिक शिक्षा सीधै रोजगारीसँग जोडिएको हुन्छ। जस्तो विदेशमा युवाहरू कमाउँदै पढ्छन्, त्यस्तै यहाँ पनि पढ्दै कमाउने अवसर सिर्जना गर्नु नै बागमती प्रदेश सरकारको नीति र कार्यक्रमसँगको हाम्रो जडान हो। युवाहरूलाई केही न केही गरेर रोजगारीसँग जोड्ने र देशमै रोक्ने ‘प्लस पोइन्ट’ दिने हो भन्ने नै बागमती सरकारको ध्येय हो।

बोहोरा: तपाईंको कार्यकालमा पीसीटीभीईटीले के नयाँपन ल्याउने तयारी गर्दैछ?

लामा: मेरो कार्यकालभरि भन्दा पनि सरकारले गरेका, राज्यले गरेका नीति तथा कार्यक्रमसँग पनि जोडिनु पर्छ। मेरो खास भनेको चाहिं युवाहरू खाली हात बस्नु हुँदैन, केही न केही काम गर्नु पर्छ। समयसापेक्ष शिक्षा र समयसापेक्ष प्रविधिसँग जोडिनु पर्छ। प्रविधिमैत्री हुनु पर्छ। हाम्रो देशमा रहेको स्रोतसाधनको पहिचान गर्नु पर्छ। त्यसलाई परिचालन गरेर, सकेसम्म तालिम दिँदा पनि सामग्रीहरू त्यस्ता हुन् जुन विदेशबाट ल्याइएका होइनन्, हामीले आफैंले उत्पादन गरेको स्रोत र साधनलाई सदुपयोग गरेर निर्माण गर्ने, मेरो उद्देश्य हो। उहाँहरूलाई प्रेरित गर्ने कुरामा, हाम्रा साथीहरूलाई उद्योग, निजी क्षेत्र, प्राविधिक शिक्षासँग जोड्ने। उहाँहरूलाई पनि यही कुरामा म बढीभन्दा बढी जोड दिने गर्छु ।

बोहोरा: ‘तालिम धेरै दिइन्छ, तर गुणस्तर र रोजगारी छैन’ भन्ने गुनासोको जवाफ के दिनुहुन्छ?

लामा: पीसीटीभीईटीले भनेको सिटिभिटीको पुनःसंरचना हो। यो बागमती प्रदेशले मात्र स्थापना गरेको छ, अरु कुनै प्रदेशले स्थापना गरेको छैन। यो गुनासो धेरै जनाले गर्दै आएका छन्। धेरै जनाले तालिमको नाममा तालिम मात्र लिए तर उपलब्धि केही भएन, रोजगारसँग जोडिएन भन्ने कुरामा हामीले स्वीकार्नु पर्छ। एउटा डेटाबेस छ। एउटा व्यवसायमा तालिम लिएको र सर्टिफिकेट लिइसकेकाहरूलाई हामीले सिस्टममा इन्ट्री गर्दैनौं। सरकारले एउटा व्यक्तिलाई एउटै कामको लागि मात्र लगानी गर्न सक्छ, सहयोग गर्न सक्छ। त्यो मानेमा, पार्लरमा ‘ए’ लेभलको ट्रेनिङ लिएकी छिन् भने, उनलाई अगाडि बढाउन (प्रमोट गर्न) चाहिं सक्छ। यो उदाहरण मात्र हो। एड्भान्स्ड तालिम दिन सकिन्छ, तर त्यही मानिसलाई अर्को विषय क्षेत्रको तालिम नदिने भन्ने हिसाबले नदिने/हटाउनेको लागि एउटा सफ्टवेयर विकास गरिएको छ। एउटा मानिसले एक प्रकारको तालिम लिइसकेपछि अर्को विषय क्षेत्रको तालिम लिन पाउँदैन। हामीले के गरेका छौं भने, तालिम लिने बेलामा स्व-घोषणा फर्म भर्न लगाएका थियौं कि “मैले यस्तो खालको तालिम लिइसकेको छु, अर्को तालिममा भाग लिन्न। यदि लिएँ भने, तालिम खर्च जति लाग्यो, त्यो सबै फिर्ता गर्छु” भन्नेसम्मको फर्म विकास गरेका थियौं। त्यो भरेर मात्र तालिममा सहभागी गराएका थियौं। छुट्टिएका मानिसलाई मात्र तालिमको लागि अवसर दिएका छौं।

बोहोरा: बागमतीका युवा, पालिका र सरोकारवालाहरूप्रति के सन्देश दिन चाहनुहुन्छ?

शान्ति लामा: बागमती प्रदेशका युवा, सरोकारवाला तथा निजी क्षेत्रलाई के आह्वान गर्न चाहन्छु भने, हामीले नकारात्मक कुराहरू मात्र सामाजिक सञ्जालमा हालेर, सरकारप्रति “देश सकियो” भन्ने आक्रोश पोख्नुभन्दा, राज्यले गरेका कुराहरूलाई हेरेर, आफू नागरिकको जिम्मेवारी के हो? आफूले के गर्नु पर्छ? भन्ने बुझेर, राज्यसँगका सकारात्मक कुराहरूमा नजिक रहेर हेर्नु पर्छ। बागमती सरकार र सामाजिक विकास मन्त्रालय, सिटिइभेटबाट लिइने सूचनाहरू, हामीले दिइने जानकारीहरूसँग नजिक रहेर सीप सिक्न आह्वान गर्न चाहन्छु। आउने आर्थिक वर्षमा पनि हामीले ३०० जनालाई सीप सिक्ने कार्यक्रम खुलाएका छौं, ४ हजार जनालाई छोटो अवधिको तालिम दिने कुरा छ। सीप भएका तर सर्टिफिकेट नलिएका युवाहरूको लागि भौचर प्रणालीबाट सर्टिफिकेट दिने कार्यक्रम रहेको छ। सरकारको फेसबुक पेज तथा हाम्रो वेबसाइट हेरेर, राज्यले जति गरेको छ, युवाहरूकै लागि रहेको छ भन्ने कुरा थाहा पाउन सकिन्छ। सहकार्य र समन्वय गरेर अगाडि बढौं। साथै, जसलाई तालिम दिएका छौं, जसले सीप लिएको छ, उहाँहरूलाई रोजगारसँग जोड्नका लागि निजी क्षेत्र, रोजगार दाताहरूसँगको प्रत्यक्ष सरोकारमा रहेको विभिन्न सीप मेला, रोजगार मेला गर्दै आएकोले यसको निरन्तरता दिइरहने कुरा पनि यहाँहरूलाई जानकारी गराउन चाहन्छु।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img