लमजुङ | चैत्र महिनाको अवधिमा मात्रै तीस हजारभन्दा बढी विदेशी पर्यटकले अन्नपूर्ण संरक्षित क्षेत्रको भ्रमण गरेका छन्। अन्नपूर्ण क्षेत्रको प्रशिद्ध पर्यटकीय गन्तव्य अन्नपूर्ण चक्रीय पदमार्गमा पर्यटकको घुइँचो लाग्न थालेपछि स्थानीयवासीले राहत महसुस गरेका छन्।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका अनुसार गत मार्च महिनामा मात्रै तीस हजार एक सय ९९ विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका छन्। जसमध्ये १४ हजार ६ सय ६८ जना दक्षिण एसियाली मुलुकका र १५ हजार ५ सय ३१ जना अन्य मुलुकका पर्यटक रहेका छन्।
अन्नपूर्ण आयोजनाका प्रमुख डा. रविन कडरियाका अनुसार शीतकालीन समय समाप्त भएसँगै विश्वभरका पदयात्री पर्यटकहरू अन्नपूर्ण चक्रीय पदमार्गको भ्रमणमा आउन थालेका छन्। उनले भने, “वैशाखको अन्त्यसम्म यस क्षेत्रमा भित्रने पर्यटकको संख्या अझै बढ्नेछ, किनकी असोज–कात्तिक र चैत–वैशाख पर्यटकहरूका लागि पदयात्राको उत्तम समय हो।”
उनकाअनुसार यी दुवै याममा अन्नपूर्ण क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकहरूको घुइँचो लाग्ने गरेको छ। गत आर्थिक वर्षमा एक लाख ९१ हजार ५ सय ५८ पर्यटक अन्नपूर्ण क्षेत्रको भ्रमणमा आएका थिए। यो संख्या अहिलेसम्मकै सर्वाधिक रहेको आयोजनाले जनाएको छ।
२०१९ सालमा पनि एक लाख ८१ हजार पर्यटकले यस क्षेत्रको भ्रमण गरेका थिए भने २०२१ मा केवल १६ हजार १ सय ५ जना पर्यटक मात्र आएका थिए। गत वर्ष भने १ लाख २९ हजार ७ सय ३३ पर्यटक आएका थिए।
तर, पछिल्लो समय भारतीय पर्यटकको संख्या बढे पनि तेस्रो मुलुकका पर्यटकको आगमन भने घट्दो क्रममा रहेको आयोजना प्रमुखले बताए। उनले भने, “पुरानो पदमार्गहरू विस्थापित हुँदै गएकाले युरोप र अमेरिकाका पर्यटकहरू कम आउन थालेका छन्।”
अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गत अन्नपूर्ण आधारशिविर, मर्दीहिमाल, घान्द्रुक, मनाङको तिलिचोताल, थोरङ्लाभञ्ज्याङ, उपल्लोमुस्ताङ, मुक्तिनाथक्षेत्र, म्याग्दीको घोडेपानी लगायत गन्तव्यहरू पर्दछन्। यी गन्तव्यस्थलहरूमा बर्सेनि लाखौं आन्तरिक तथा बाह्य पर्यटकहरू आउने गरेका छन्।
७ हजार ६ सय वर्गकिलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षणक्षेत्रमा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १६ स्थानीयतह र ८९ वटा वडाहरू पर्दछन्। प्राकृतिकसौन्दर्य, जैविकविविधता, हिमालीजनजीवन, सभ्यता र संस्कृतिको कारण यो क्षेत्र पर्यटकको रोजाइमा पर्ने गरेको छ।