मकवानपुर: पछिल्लो ६ महिनामा वन्यजन्तुको आक्रमणबाट ५ जनाको मृत्यु भएको छ । चालु आर्थिक वर्षको ६ महिनामा वन्यजन्तुको आक्रमणका कारण १० जिल्लामा ५ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।
सोही अवधिमा भएका १२ वटा घटनाबाट मकवानपुर र चितवनका नागरिकहरु बढी प्रभावित बनेका छन् । जङ्गली जनावरको आक्रमणबाट २ लाखभन्दा बढीको भौतिक क्षति भएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।
प्रदेश प्रहरी कार्यालय बागमती प्रदेश अन्तरगतका १० जिल्लामा वन्यजन्तुको आक्रमणबाट विगत १८ महिनामा १६ जनाको मृत्यु भएको छ । अघिल्लो आर्थिक वर्ष ती १० जिल्लामा ११ जनाको मृत्यु भएको थियो भने ३९ जना घाइते भएका थिए ।
बागमती प्रदेश प्रहरी कार्यालय हटौंडाको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०७९/०८० को अवधिमा भएका २४ घटनामा करोडौँको आर्थिक तथा भौतिक क्षति भएको छ ।
विशेषगरी बागमती प्रदेशको चितवन, मकवानपुर, धादिङ, नुवाकोट, रामेछाप, सिन्धुपाल्चोक र सिन्धुलीमा मानिसहरु वन्यजन्तुको आक्रमणमा पर्ने गरेका छन् । नेपालको संरक्षित क्षेत्र र राष्ट्रिय निकुञ्ज मानव बस्तीकै माझ भएकै कारण पनि मानिसहरु वन्यजन्तुको आक्रमणमा पर्नु परेको छ ।
जङ्गली जनावरका कारण मानिस घाइते, अङ्गभङ्ग तथा मृत्यु हुने, पशुधनको क्षति, घरगोठको नोक्सानी, अन्नबाली, फलफूल, भण्डारण गरेको अन्नपातसमेतको क्षति हुने गरेको छ ।