भरतपुर | नारायणी किनारमा सम्पन्न खेलकुद तथा व्यापार महोत्सवको फोहोर राति जलाइएको घटनामा कारबाही नहुँदा जेन्जी समूह चितवन र बेटर चितवनले भरतपुर महानगरपालिकालाई ४८ घण्टे अल्टिमेटम दिएका छन्। फोहोर जलाएको २८ दिन बितिसक्दा पनि दोषीमाथि कुनै ठोस कारबाही नगरेको भन्दै समूहले फेरि चेतावनी पत्र बुझाएको हो।
अल्टिमेटम पत्रमा महोत्सव आयोजक, सम्बन्धित ठेकदार र जिम्मेवार पदाधिकारीमाथि फोहोर व्यवस्थापन, वातावरण संरक्षण र स्थानीय सरकार सञ्चालन ऐन अनुसार तत्काल कारबाही गर्नुपर्ने, दोषी व्यक्ति वा संस्थामाथि जरिवाना र क्षतिपूर्ति असुली गर्नुपर्ने, साथै नारायणी आसपासको वातावरणीय क्षतिको मूल्याङ्कन गरी सरसफाई र पुनःस्थापना कार्य आयोजकले गर्ने व्यवस्था राख्नुपर्ने उल्लेख छ।
समूहका अनुसार भविष्यमा यस्ता महोत्सव वा ठूला कार्यक्रमको लागि अनिवार्य फोहोर व्यवस्थापन योजना कार्यान्वयन नगरेसम्म अनुमति नदिने र नदी किनारमा फोहोर फाल्ने वा जलाउने जोसुकैलाई शून्य सहनशीलताको नीति अनुसार कारबाही गर्ने स्पष्ट निर्देशन जारी गर्नुपर्ने माग राखिएको छ।
जेन्जी र बेटर चितवनले चेतावनी पत्र सम्बोधन नभए उपल्लो निकायमा मुद्दा दायर गर्ने तयारी गरेका छन्। गत मङ्सिर ८ गते पनि दोषीलाई कारबाही गर्न महानगरलाई पत्र काटिएको थियो। त्यसपछिका २८ दिनमा कुनै ठोस कारबाही नहुँदा फेरि पत्र बुझाइएको हो। प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी पौडेलले घटनाको छानबिन भइरहेको र कारबाही प्रक्रियामा लागेको बताए। उनले समय लिएकोमा पूर्वाग्रह नहोस् भन्ने उद्देश्य रहेको पनि बताए।
पौडेलले नगरसभा मार्फत अब यस्ता महोत्सवका लागि नारायणी किनारको साटो वैकल्पिक स्थानमा मात्र अनुमति दिने नीति ल्याउने तयारी भइरहेको जानकारी दिएका छन्।
महोत्सवको फोहोर व्यवस्थापनको ठेक्का पाएको संस्था केशव नेपालले आयोजकसँग कुनै पूर्व सम्झौता नभएको र प्रस्ताव अस्वीकृत भएपछि मात्रै फोहोर उठाउन नसकिएको बताए। आयोजक चितवन जिल्ला खेलकुद विकास समितिले पनि घटनाको जानकारी समाचार आएपछि मात्रै थाहा पाएको र जलाउनमा उनीहरूको संलग्नता नभएको प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ।



