हेटौँडा | मकवानपुरमा पहिलोपटक सर्वाधिक पुरस्कार राशिको टि–१० क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ। नेपाल मुस्लिम इत्तेहाद संगठन जिल्ला कमिटी मकवानपुरले मङ्सिर १२ देखि १५ गतेसम्म हेटौँडा–४, हुप्रचौरमा प्रतियोगिता सञ्चालन गर्ने जनाएको छ।
संगठनले आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताबारे जानकारी दिँदै, बागमती प्रदेशका सात र मधेश प्रदेशका नौ टोलीले प्रतिस्पर्धा गर्ने जानकारी गराएको छ। सचिव हाशिम शेखका अनुसार, नकआउट आधारमा खेलाइने यो प्रतियोगितामा विजेता टोलीले एक लाख नगद, शिल्ड, पदक, र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद ५० हजारसहित सम्मानजनक पुरस्कार प्राप्त गर्नेछन्।
प्रतियोगिताका सह संयोजक प्रमोद मानन्धरले उत्कृष्ट खेलाडीहरुको पहिचान गर्न विभिन्न विधामा पुरस्कार प्रदान गरिने बताए। बेस्ट ब्याट्सम्यान, बेस्ट बलर, प्रत्येक खेलका प्लेयर अफ द म्याच, र प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई ट्रफी प्रदान गरिनेछ। आयोजकका अनुसार, यो प्रतियोगिता सञ्चालनका लागि करिब छ लाख रुपैयाँ खर्च हुने अनुमान छ।
पत्रकार सम्मेलनमा नेपाल मुस्लिम इत्तेहाद संगठन बागमती प्रदेशका अध्यक्ष समिम खानले दुई प्रदेशबीचको सम्बन्ध सुदृढ गर्न र खेलकुदको विकासमा योगदान पुर्याउन प्रतियोगिता आयोजना गरिएको बताए। उनले यस्तो प्रतियोगिताले खेलाडीहरुको प्रतिभा उजागर गर्नुका साथै क्रिकेटको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा मकवानपुर क्रिकेट संघका सचिव विनोद बानियाँ र अन्य खेलाडीहरुको उपस्थिति रहेको थियो। आयोजकले प्रतियोगितालाई सफल बनाउन खेलप्रेमीहरु, स्थानीय समुदाय, र सम्पूर्ण सरोकारवालाहरुको सहयोगको अपेक्षा व्यक्त गरेको छ।