हेटौँडा | पछिल्लो समय आयुर्वेदिक चिकित्सा प्रणालीप्रति सर्वसाधारणको विश्वास उल्लेखनीय रूपमा बढ्दै गएको छ।
सार्वजनिक स्वास्थ्य सेवामा आधुनिक चिकित्सा प्रणालीको हावी रहे पनि पारम्परिक उपचारप्रति आकर्षण बढ्नु महत्वपूर्ण विषय हो। आयुर्वेदमा जडीबुटी र प्राकृतिक उपचार पद्धतिलाई वैज्ञानिक ढंगले प्रयोग गरिन्छ, जसका कारण बिरामीहरू यसको विकल्प खोज्न थालेका जिल्ला आयुर्वेद चिकित्सालयकी प्रमुख ललिता पाण्डे बताउँछिन्।
मकवानपुरको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा मात्रै ९ हजार ४८ जनाले सेवा लिएका छन्। यसमध्ये ४ हजार २ सय ७३ पुरुष तथा ४ हजार ७ सय ७५ महिला रहेका छन्। अस्पतालको तथ्यांकअनुसार, अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा १७ हजार ६८० जना बिरामीले सेवा लिएका थिए।
बढ्दो चापले चिकित्सालयमा पालो कुर्नुपर्ने अवस्था सिर्जना गरेको छ। अत्यधिक संख्यामा आउने बिरामीका कारण सेवाको पहुँच अझै प्रभावकारी बनाउनुपर्ने चुनौती रहेको चिकित्सालयकी प्रमुख ललिता पाण्डे बताउँछिन्।
आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले बिरामीहरूलाई २३ थरीका औषधि निःशुल्क वितरण गर्दै आएको छ। साथै, पूर्वकर्म, पञ्चकर्म, योग परामर्श, पत्थ्य आहार सेवा, प्रयोगशाला सेवा, निशुल्क फिजियोथेरापी, ज्येष्ठ नागरिक सेवा, स्तनपायी कार्यक्रम, अकुपन्चर सेवा, र सल्य सेवा जस्ता उपचार सुविधाहरू प्रदान गरिन्छन्।
हाल अस्पताल भवनको अभाव तथा योग हलको कमीका कारण कतिपय सेवाहरू प्रभावकारी रूपमा सञ्चालन गर्न कठिनाइ भइरहेको छ। चिकित्सालयका सूचना अधिकारी विनोदकुमार शाहका अनुसार, अस्पतालले छिट्टै हेटौँडा-२ स्थित नयाँ भवनबाट सेवा विस्तार गर्ने तयारी गरिरहेको छ।
आयुर्वेदप्रति जनचासो बढ्नु स्वास्थ्य सेवामा सकारात्मक संकेत हो। यद्यपि, बढ्दो मागलाई पूरा गर्न पूर्वाधारको विकास, दक्ष जनशक्तिको व्यवस्था, तथा आधुनिक प्रविधिसँग संयोजन गरी आयुर्वेदिक चिकित्सा प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्ने देखिन्छ।