Thursday, March 27, 2025
देशकोशी प्रदेशताप्लेजुङमा पाथीभरा केबुलकार अवरोधको विरोधमा प्रदर्शन

ताप्लेजुङमा पाथीभरा केबुलकार अवरोधको विरोधमा प्रदर्शन

ताप्लेजुङ | ताप्लेजुङको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल पाथीभरा मन्दिरसम्म सहज पहुँचका लागि निर्माणाधीन केबुलकारमा अवरोध सृजना गर्न खोजिएको भन्दै फुङलिङ बजारमा वृहत प्रदर्शन गरिएको छ।

स्थानीय बासिन्दा, राजनीतिक दलका प्रतिनिधिहरू, नागरिक समाजका अगुवा तथा विभिन्न संघसंस्थाहरूको उपस्थितिमा सम्पन्न विरोध प्रदर्शनमा सहभागीहरूले पाथीभरा केबुलकार आयोजनालाई कुनै पनि हालतमा रोक्न नहुने भन्दै आवाज उठाएका छन्। उनीहरूले केबुलकार निर्माणले ताप्लेजुङको समग्र विकासलाई तीव्रता दिने भएकाले निर्माण कार्य तत्काल अघि बढाउन माग गरेका छन्।

प्रदर्शनमा सहभागीहरूले ‘पाथीभरा केबुलकार निर्माण रोक्न नदेऊ!’, ‘ताप्लेजुङको विकासमा अवरोध नगर!’, ‘लगानीमैत्री वातावरण बनाऊ!’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए। उनीहरूले बाहिरी हस्तक्षेप अस्वीकार्य रहेको बताउँदै ताप्लेजुङको समृद्धि रोक्न खोज्ने प्रयासलाई प्रतिकार गर्ने चेतावनी दिएका छन्।

चार दशकअघि उठेको पाथीभरा केबुलकार निर्माणको प्रस्ताव २०७२ सालमा पाथीभरा देवी दर्शन केवलकार प्रालि स्थापनापछि मूर्तरूप लिने क्रममा छ। २०७५ सालमा नेपाल सरकारको मन्त्रीपरिषद्को निर्णयअनुसार निर्माण अनुमति प्राप्त गरेपछि आयोजना अघि बढाइएको थियो।

करीब दुई वर्षअघि आइएमई समूहको संलग्नतासँगै यस आयोजनाले तीव्र गति लिएको छ। नेपाल सरकारले आवश्यक कानुनी तथा सरकारी स्वीकृति प्रदान गरिसकेको र राष्ट्रिय प्राथमिकताको परियोजनाका रूपमा समावेश गरेपछि आयोजनाले थप गति लिएको स्थानीय बासिन्दाहरू बताउँछन्।

आयोजनाले केबुलकारका लागि आवश्यक जग्गा प्राप्त गर्ने प्रक्रिया पूरा गरिसकेको छ भने नेपाल सरकारलाई सट्टा भर्ना जग्गा समेत हस्तान्तरण गरिसकेको छ। केबुलकार मार्गमा पर्ने रुख कटान तथा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) स्वीकृत भइसकेको छ।

यही महिनाबाट भौतिक निर्माण कार्य औपचारिक रूपमा सुरू भइसकेको र आगामी केही वर्षभित्रै केबुलकार सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।

स्थानीयवासीले विकासमा अवरोध सिर्जना गर्ने प्रयास तत्काल रोक्न माग गर्दै केबुलकार निर्माण कार्यलाई तीव्र रूपमा अगाडि बढाउन सरकार तथा सम्बन्धित निकायलाई आग्रह गरेका छन्।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img