हेटौँडा | भीम विराग संगीत, साहित्य, कला प्रतिष्ठान मकवानपुरले विभिन्न विधामा योगदान पुर्याएका ११ जना स्रष्टालाई सम्मान गर्ने भएको छ। १७ फागुनमा विशेष साहित्यिक कार्यक्रम आयोजना गरी चार वटा राष्ट्रिय पुरस्कार र सात वटा सम्मान प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष केशवलाल श्रेष्ठ तौजलेले जानकारी दिए।
श्रेष्ठका अनुसार, भीम विराग राष्ट्रिय साहित्य पुरस्कार २०८१ काठमाडौंकी माया ठकुरी, भीम विराग राष्ट्रिय संगीत पुरस्कार रुपन्देहीका गायक हेमन्त शर्मा, भीम विराग राष्ट्रिय कला पुरस्कार मकवानपुरका कलाकार भोलाराज सापकोटा, र भीम विराग राष्ट्रिय पत्रकारिता पुरस्कार काठमाडौंका पत्रकार तथा साहित्यकार ठाकुर बेल्वासे लाई प्रदान गरिनेछ। यी राष्ट्रिय पुरस्कार प्राप्तकर्ता प्रत्येकलाई २५ हजार रुपैयाँ नगदसहित सम्मानपत्र प्रदान गरिनेछ।
यसैगरी, प्रतिष्ठानले अन्य सात विधामा समेत विशेष सम्मान प्रदान गर्ने भएको छ। तुलसीमाया–शिवकुमारी सृजनशील नारी सम्मान मकवानपुरकी महिला उद्यमी शोभा श्रेष्ठ, शिला नारी सम्मान मकवानपुरकै उद्यमी मेनका श्रेष्ठ, र चिनुकुमारी लामा स्मृति साहित्य सम्मान मकवानपुरका बाल साहित्य अभियानकर्मी दीपक गौतम लाई दिइनेछ।
लोकसंगीतमा योगदान पुर्याएको भन्दै पर्वतका लोकदोहोरी गायक कुलेन्द्र विश्वकर्मा लाई रामकृष्ण बानियाँ स्मृति लोक संगीत सम्मान प्रदान गरिनेछ, जसअन्तर्गत २० हजार रुपैयाँ समेत दिइनेछ। यसैगरी, मकवानपुरकै विद्यार्थी रितिका छत्कुली लाई भीम–मथुरा बाल प्रतिभा सम्मान, स्वास्थ्य क्षेत्रमा योगदान पुर्याएबापत निर्मला ब्लोन लाई मंगलादेवी स्मृति स्वास्थ्य सेवा सम्मान, र दृष्टिविहीन भए पनि प्रविधिमा दक्षता देखाएका मकवानपुरका मेकानिक सुदर्शन ढकाल लाई अजित सेन–कमलेश्वरी गुप्ता भिन्न क्षमता सम्मान प्रदान गरिनेछ।
पुरस्कार वितरण समारोहमा सम्मानित गायक हेमन्त शर्मा र लोकदोहोरी गायक कुलेन्द्र विश्वकर्मा को विशेष सांगीतिक प्रस्तुति रहनेछ। कार्यक्रमका लागि प्रवेश टिकट एक हजार रुपैयाँ तोकिएको प्रतिष्ठानका महासचिव छवि अनित्यले जानकारी दिए।