हेटौँडा | मकवानपुरको बकैया गाउँपालिका-४, जुरेली बजारस्थित मदन भण्डारी लोकमार्गमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
मकवानपुर प्रहरीका अनुसार आइतबार राति करिब २ बजे हात्तिसुडेबाट ठुलोदमारतर्फ जाँदै गरेको बा ४० प ५३०६ नम्बरको मोटरसाइकल घुम्तीमा मोड्ने क्रममा अनियन्त्रित भई दुर्घटना भएको हो। दुर्घटनामा परी बकैया-४ निवासी ३३ वर्षीय मोटरसाइकल चालक रुपक दियाली गम्भीर घाइते भएका थिए।
घटनापछि उनलाई तत्काल उद्धार गरी बकैया अस्पतालमा प्रारम्भिक उपचार गरिए पनि थप उपचारका लागि हेटौंडा अस्पताल पठाइएको थियो। हेटौंडा अस्पतालमा बिहान साँढे ४ बजे चेकजाँच गर्दा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।
हाल शव हेटौंडा अस्पतालमै राखिएको छ भने दुर्घटनाबारे थप अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ।