Wednesday, March 26, 2025
मकवानपुरहेटौंडा उपमहानगरपालिकाभोलीदेखि हेटौँडामा राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव, पहिलो दिन निःशुल्क प्रवेश

भोलीदेखि हेटौँडामा राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव, पहिलो दिन निःशुल्क प्रवेश

हेटौँडा | हेटौँडामा भोली फागुन ६ गतेदेखि राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव सुरु हुँदैछ। १० वर्षपछि पुनः आयोजना हुन लागेको दोस्रो संस्करणको महोत्सव नेपाल सरकारका गृहमन्त्री रमेश लेखकद्वारा उद्घाटन गरिने भएको छ।

नेपाल निर्माण व्यवसायी महासंघ र निर्माण व्यवसायी संघ मकवानपुरको संयुक्त आयोजनामा हुन लागेको यो महोत्सव मकवानपुर जिल्लाको निर्माण तथा औद्योगिक क्षेत्र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको हो।

संघका अध्यक्ष बालगोपाल कंडेलका अनुसार उद्घाटन समारोहलाई विशेष बनाउन पहिलो दिन सबैका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ। महोत्सवमा विभिन्न निर्माण सामग्री उत्पादक, उद्योगी, व्यवसायी, हस्तकला व्यवसायी, महिला उद्यमी, तथा उपभोक्ताका लागि ३५० भन्दा बढी स्टल राखिएका छन्। मकवानपुरका उद्योगी तथा व्यापारीहरूलाई विशेष प्रोत्साहन प्रदान गर्न स्टल भाडामा ५० प्रतिशत छुट दिइने संघले जनाएको छ।

संघ महासचिव राजेन्द्र चौलागाईंका अनुसार महोत्सवमा निर्माण उपकरण तथा औद्योगिक उत्पादनका प्रदर्शनीसँगै व्यवसाय प्रवर्द्धनका लागि अन्तरक्रिया कार्यक्रम पनि राखिएको छ। व्यवसायी, बिक्रेता, तथा उपभोक्ताबीच समन्वय कायम गर्न महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। महोत्सवको अर्को मुख्य आकर्षण ‘हेटौँडा आइडल’ प्रतियोगिता हुनेछ, जसमा मकवानपुरका नवप्रतिभाहरूले आफ्नो गायन क्षमता प्रस्तुत गर्ने अवसर पाउनेछन्।

संघ वरिष्ठ उपाध्यक्ष सागर कटुवालका अनुसार महोत्सवले निर्माण सामग्री उत्पादन तथा व्यापारमा गुणस्तरीय प्रतिस्पर्धा बढाउँदै व्यवसायीहरूबीच अन्तरक्रिया गर्ने अवसर प्रदान गर्नेछ। यस महोत्सवलाई भव्य बनाउन २५१ सदस्यीय मूल समारोह समिति र ११ सदस्यीय स्टेरिङ कमिटी गठन गरिएको छ।

हेटौँडा–१० टिसिएन चौरमा आयोजना हुने महोत्सव फागुन १८ गतेसम्म चल्नेछ, जसमा हरेक दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुति रहनेछ। आयोजकका अनुसार महोत्सवमा आउने आगन्तुकका लागि बाल उद्यान, विभिन्न परिकारका खानाका स्टलहरू, तथा अन्य मनोरञ्जनात्मक गतिविधिहरूको व्यवस्था गरिएको छ।

महोत्सव आयोजक समितिले स्थानीय बासिन्दा, व्यवसायी, तथा सम्पूर्ण इच्छुक नागरिकहरूलाई महोत्सवमा सहभागी हुन अनुरोध गरेको छ। उद्घाटनको दिन निःशुल्क प्रवेश रहेकाले पहिलो दिन अधिक भीड हुने अपेक्षा गरिएको छ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img