Sunday, March 16, 2025
राजनीतिभ्रष्टाचारले नेपाल अन्तर्राष्ट्रिय स्तरमा बदनाम हुँदै गयो - नेता कोइराला

भ्रष्टाचारले नेपाल अन्तर्राष्ट्रिय स्तरमा बदनाम हुँदै गयो – नेता कोइराला

कोशी | नेपाली कांग्रेसका वरिष्ठ नेता तथा संघीय सांसद डा. शेखर कोइरालाले नेपालको कमजोर आर्थिक अवस्था र बढ्दो भ्रष्टाचारका कारण अन्तर्राष्ट्रिय छवि धमिलिएको बताएका छन्।

मोरङको बूढीगंगा गाउँपालिकामा सञ्चालनमा आएको पालिका स्तरीय अस्पतालको उद्घाटन गर्दै उनले भ्रष्टाचार सम्बन्धी विभिन्न रिपोर्टले देशलाई अप्ठ्यारोमा पारिरहेको बताए।

नेता कोइरालाले ट्रान्सपरेन्सी इन्टरनेसनलको भ्रष्टाचार अवधारणा सूचकांक अनुसार नेपाल १०७ औं स्थानमा पर्नु लज्जाजनक भएको बताए।  “देशको आर्थिक अवस्था कमजोर छ, उत्पादकत्व वृद्धि हुन सकेको छैन र परनिर्भरता बढ्दै गएको छ,” उनले भने। “भ्रष्टाचारको स्तरले अन्तर्राष्ट्रिय स्तरमै नेपाललाई बदनाम बनाएको छ।”

उनका अनुसार देशमा सुशासन नहुँदा आम जनतामा राजनीतिप्रति वितृष्णा बढ्दै गएको छ, र त्यसविरुद्ध निर्मम रूपमा उभिनुपर्ने आवश्यकता छ।

नेता कोइरालाले विद्यालय तहबाटै स्वास्थ्य सचेतना अभियान संचालन गर्नु पर्नेमा जोड दिए। “देशको भविष्य स्वस्थ जनशक्ति तयार पार्नमा निर्भर छ,” उनले भने।

मनमोहन प्राविधिक विश्वविद्यालयका उपकुलपति डा. सुवासश्री पोखरेलले प्राविधिक र सीपमूलक शिक्षा नै रोजगारीको मुख्य आधार भएको उल्लेख गर्दै,
“विश्वविद्यालयले हरेक वर्ष ५ सय रोजगारी सिर्जना गर्ने गरी काम गरिरहेको छ,” जानकारी दिए।

बूढीगंगा गाउँपालिका अध्यक्ष जितनारायण थापा मगरका अनुसार गाउँपालिकाले शिक्षा र स्वास्थ्यलाई उच्च प्राथमिकता दिएर काम गरिरहेको छ। उनले अस्पतालको फार्मेसीबाट स्वास्थ्य बिमा अन्तर्गत ५०० प्रकारका औषधि तथा गाउँपालिकाले छुट्टै ९८ प्रकारका औषधि नि:शुल्क वितरण गर्ने बताए।

थापा मगरका अनुसार, गाउँपालिकाले सुविधासम्पन्न आकर्षक पार्क निर्माण, महिला उद्यमी ग्राम जस्ता परियोजनाहरू चाँडै मूर्तरूप लिने तयारी गरिरहेको छ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img