हेटौँडा | मकवानपुरको मनहरी गाउँपालिका–६ मा निर्माण सम्पन्न भएका पाँच पूर्वाधार योजनाको बिहीबार एकैदिन उद्घाटन गरिएको छ। उद्घाटन गरिएका पूर्वाधारहरूमा रमौली–प्रतापपुर खण्डको एक किलोमिटर कालोपत्रे सडक, जोगीताल पक्की पुल, सुनाचुरी–जोगीताल सडक खण्डको कालोपत्रे काम, तिलेश्वर मन्दिर सुधार योजना, र सुनाचुरी गुम्बाचोकस्थित क्लब भवन तथा जिम क्लब रहेका छन्। यी सबै योजनाहरू प्रदेश सरकार, गाउँपालिका र वडा कार्यालयको संयुक्त बजेटबाट निर्माण गरिएको हो।
उद्घाटन कार्यक्रमको प्रमुख आतिथ्य ग्रहण गरेका नेपाली कांग्रेस बागमती प्रदेश सभापति तथा प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँले वडाको भौगोलिक अवस्थालाई चिनाउँदै यस क्षेत्रलाई प्रदेशको दुर्गम र चुनौतीपूर्ण भू–भागका रूपमा चिनाए। बानियाँले विगतदेखि प्रदेश र स्थानीय तहको सहकार्यमा योजनाबद्ध विकासले गति लिएको बताए। चितवन राष्ट्रिय निकुञ्जको प्रभावका कारण विकासमा देखिएको अड्चन समाधान गर्न सरकारबीच समन्वय आवश्यक रहेको उल्लेख गर्दै तटबन्ध, बाटो र अन्य पूर्वाधार निर्माणमा आफू संलग्न रहने प्रतिबद्धता जनाए।
कार्यक्रममा बानियाँले जनप्रतिनिधि भएकाले दलगत पूर्वाग्रहभन्दा बाहिर गई, जनताको हितलाई पहिलो प्राथमिकतामा राख्दै काम गर्नुपर्ने धारणा राखे। उनले स्थानीय रोजगारी सिर्जनामा जोड दिँदै समन्वयको शक्ति प्रयोग गरेर गाउँलाई आर्थिक रूपमा सबल बनाउन आग्रह गरे।
पूर्वाधार योजनाको उद्घाटन समारोह वडाध्यक्ष युवराज थपलियाको अध्यक्षता तथा प्रमुख अतिथि बानियाँको उपस्थितिमा सम्पन्न भएको थियो। कार्यक्रममा मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेती, वडा नं. ७ का अध्यक्ष ठाकुरराम तितुङ, कांग्रेस गाउँपालिका सभापति प्रकाश बर्तौला लगायतका नेताहरूले मन्तव्य राख्दै विकास र समृद्धिको बाटो सहकार्य र योजनाबद्धताबाट मात्रै सम्भव हुनेमा जोड दिएका थिए।