हेटौँडा | मकवानपुरगढी गाउँपालिका वडा नम्बर ६ स्थित डुम्रेकुनामा माघ २ गतेदेखि सुरु भएको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ तथा धार्मिक महोत्सव सम्पन्न भएको छ। महायज्ञबाट झन्डै ६० लाख रुपैयाँ बराबरको सहयोग संकलन भएको समारोह समितिले जनाएको छ जसले जालपा/जलेश्वर मन्दिरको भौतिक संरचना निर्माणमा ठूलो योगदान पुर्याउने अपेक्षा गरिएको छ।
महायज्ञ आयोजक मूल समारोह समितिका अध्यक्ष रामकृष्ण न्यौपानेका अनुसार दान कोषमा नगद २८ लाख ८९ हजार १ सय ९० रुपैयाँ, जिन्सी सहयोग २५ हजार रुपैयाँ र आगामी बजेटमा सम्बोधन हुनेगरी ३० लाख रुपैयाँ थप सहयोग प्रतिबद्धता गरिएको छ।
अन्तिम दिन विशेष रूपमा काठमाडौँ शङ्खरापुर ९ का राजकुमार श्रेष्ठले नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ, नेकपा एमाले मकवानपुरगढी गाउँ कमिटीले ५२ हजार १ सय ५ रुपैयाँ, मकवानपुरगढी गाउँपालिकाले ५० हजार ५० रुपैयाँ, र मकवानपुरगढी ६ झल्लाका जित बहादुर घलानले २५ हजार १ सय ५५ रुपैयाँ दान गरेको न्यौपानेले जानाकारी दिए ।
माघ २ गते कलशयात्रा मार्फत सुरु भएको महायज्ञमा हरेक दिन धार्मिक कथा वाचन, भजन, झाँकी प्रदर्शन, सामूहिक ब्रतबन्ध, चौरासी पूजा, तुलादान र जिन्सीदानजस्ता धार्मिक अनुष्ठान भएका थिए। महायज्ञमा पण्डित रामचन्द्र तिमल्सिना र १०८ महायज्ञका अभियानकर्ता हरिचन्द्र तिमल्सिनाले कथा वाचन गरेका थिए। साथै, सांगीतिक प्रस्तुति र झाँकी प्रदर्शनीले महायज्ञमा छुट्टै रौनक थपेको थियो।
समापन कार्यक्रममा महायज्ञ आयोजक मूल समारोह समितिले सबै सहयोगदाताप्रति हार्दिक आभार प्रकट गर्दै महायज्ञबाट संकलित रकम मन्दिरको संरचना निर्माणमा पारदर्शी रूपमा उपयोग गरिने प्रतिबद्धता जनाएको छ ।
डुम्रेकुना मकवानपुरगढी गाउँपालिकाको केन्द्रमा पर्ने स्थान हो, जहाँ कान्तिलोकपथ हुँदै शिखरकटेरी वा सामरी पुल हुँदै सहजै पुग्न सकिन्छ। महायज्ञले धार्मिक, सांस्कृतिक र सामाजिक चेतना फैलाउनुका साथै मन्दिरको विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।