Friday, February 7, 2025
समाज‘कोमा’मा हेटौँडा सिमेन्ट: तलबमै मासिक करोड सकिन्छ, ६ महिनामा २२ दिन उत्पादन 

‘कोमा’मा हेटौँडा सिमेन्ट: तलबमै मासिक करोड सकिन्छ, ६ महिनामा २२ दिन उत्पादन 

हेटौँडा | गत आर्थिक वर्षमा जम्मा ५२ दिन सिमेन्ट उत्पादन गरेको हेटौँडा सिमेन्ट उद्योगले चालु आर्थिक वर्षको हालसम्म २२ दिन उपादान गर्यो । यस अवधिमा १ लाख ३५ हजार बोरा उत्पादन भएको सिमेन्ट प्रतिबोरा ६ सय ५० रुपियाँ (भ्याटसहित) का दरले बिक्री गरिएको थियो । एक दिन सिमेन्ट उत्पादन गर्दा कोइला खर्चमात्र ३३ लाख ६० हजार आउँछ । उक्त तथ्यांकअनुसार २२ दिन उद्योग चल्दा कोइला खर्चमात्र ७ करोड ३९ लाख २० हजार भएकोमा सिमेन्ट बिक्रीबाट ८ करोड ७७ लाख ५० हजार आम्दानी गरिएको थियो ।

पूर्णसरकारी स्वामित्वमा रहेको हेटौंडा सिमेन्ट उद्योग घाटाको घिटघिटोमा छ । निजी सिमेन्ट उद्योगहरुले एकछत्र बजार जमाइरहँदा २०४३ सालदेखि सिमेन्ट उत्पादन थालेको सरकारी स्वामित्वको सिमेन्ट उद्योग अहिले न सिमेन्ट उत्पादन छ, न पूर्णरूपमा बन्द छ । यो कोमाको अवस्थामा पुगेको छ ।

६ महिनामा ६ करोड ७२ लाख तलबमै खर्च, संचालन भने २२ दिन  

उद्योग कहिलेबाट पूर्णरुपमा बन्द हुने हो मिति मात्रै तोकिएको छैन अनि तलब मात्रै रोकिएको छैन, बाँकी कुरा सबै बन्द छ भन्दा फरक नपर्ला । उद्योगले हरेक वर्ष १० देखी १२ करोड घाटा बेहोरिरहेको छ ।  सिमेन्ट उद्योग आर्थिक वर्ष २०७५/०७६ देखि हालसम्म करिब १ अर्ब भन्दा बढी घाटामा छ । प्रशासनको तथ्यांकले पछिल्लो तीन वर्षमा मात्रै उद्योगको घाटा ३५ करोड भन्दा बढी रहेको देखाउछ । उद्योगले गरेको आम्दानी र खर्चलाई गणितीय हिसावले हेर्दा  चालु आर्थिक वर्षको ६ महिनामा मात्रै उद्योगको ६ करोड ४६ लाख ७८ हजार घाटा थपिएको छ ।

उद्योग घाटाको घिटघिटीमा रहे पनि कर्मचारीको संख्या भने व्यापक छ । घाटमा जानुको एक कारण कर्मचारीको तलब पनि हो । उद्योग ६  महिनामा २० दिन संचालन हुँदा कर्मचारीको तलबमा भने ६ करोड ७२ लाख खर्च भैसेको देखिन्छ ।

 उद्योगमा स्वीकृत दरबन्दी ६ सय ५५ जनाको थियो । हाल महाप्रवन्धकदेखि प्रशासन तथा प्राविधिक गरी १ सय ६६ जनाले काम गरिरहेका छन् । उनीहरुका लागि मासिक ७६ लाख बढी खर्च हुने गरेको प्रशासन बताउछ । त्यसबाहेक दैनिक ज्यालादारीमा ९० जनाले उद्योगमा काम गर्दै आएका छन् । उनीहरुको दैनिक ज्यालादारी तलबबापत् २२ लाख भन्दा बढी खर्च हुने गरेको छ भने सुरक्षागार्ड ५३ जना कार्यरत् छन् । उनीहरुको मासिक तलबमा १४ लाख बढी खर्च हुने गरेको छ । कुल ३ सय ९ कर्मचारी रहेको उद्योगमा मासिक १ करोड १२ लाख भन्दा बढी रकम तलबमा खर्च हुने गरेको छ । त्यसबाहेक इन्धन, भत्तालगायत शीर्षकमा पनि उद्योगले कर्मचारीको खातामा रकम उपलब्ध गराउँदै आएको छ ।

सिमेन्ट बेचेको पैसाले पुगेन तलब

मात्र २२ दिन संचालन भएको उद्योगमा यत्तिका कर्मचारीले के गर्छन् ? जो कोहीको मनमा पनि यो प्रश्न उठ्नु स्वभाविक हो । उद्योग प्रशासनका अनुसार उद्योग बन्द रहे पनि कर्मचारीहरुले हाजिर गरिरहेका छन् । प्रशासन र प्राविधिक पक्षको काम उद्योग बन्द रहे पनि भइरहेको छ ।

उद्योग आफैं घाटामा रहेको र उत्पादन ठप्प भएको अवस्थामा कर्मचारीलाई दिने तलबको व्यवस्थापन कसरी भइरहेको छ भन्ने प्रश्नमा प्रशासन प्रमुख तथा सूचना अधिकारी हरेराम आचार्यले उद्योगमा उत्पादन भएको सिमेन्ट बजारमा गएर रकम आएपछि सोही रकमले तलब खाने काम भइरहेको बताए  । उनका अनुसार चालु आर्थिक वर्षमा उद्योगले ८ करोड ७७ लाख ५० हजारको सिमेन्ट बिक्री गरेको थियो । सोही रकमबाट कर्मचारीको तलबभत्ता व्यवस्थापन गरिरहेको तर, पछिल्लो समय भने तलब पनि बाँड्न नसकिने अवस्थामा पुगेको हो  ।

आर्थिक संकट गहिरिँदै जाँदा सिमेन्ट उत्पादन अन्यौलमा छ । उद्योग व्यवस्थापनले उद्योगका विभिन्न उपकरण मर्मतको काम गर्नुपर्ने जनाउँदै असोज १५ गतेदेखि सिमेन्ट उत्पादन बन्द गरेको थियो । बन्द रहेको सिमेन्ट कारखाना अब कहिले खुल्छ भन्ने कुनै खाका छैन ।

२०३३ मा हेटौंडाको लामसुरेमा स्थापना भएको उद्योगका मेसिनहरु पुरानो हुँदा उत्पादनमा समस्या हुने गरेको प्राविधिकहरु बताउँछन् । किन उपदान अन्योल भन्ने प्रश्नमा प्राय: निजी सिमेन्ट उद्योगसरह नै सिमेन्ट उत्पादनका लागि नयाँ प्रविधि भित्राउन आवश्यक रहेको तर्क दिईने गरेको छ । उद्योगका मेसिनरी औजार र प्लान्ट पुरानो हुँदा कोइला र विद्युत् खपत बढी रहेको उद्योगका महाप्रवन्धक वसन्तकुमार पाण्डे बताउँछन् ।

चालु आर्थिक वर्ष २०८१/०८२ मा भदौ तेस्रो साताबाट सिमेन्ट उत्पादन सुरु गरिएको थियो । त्यसपछि असोजबाट बन्द भएको उद्योग त्यै कोमाको अवस्थामा छ । चिकित्सकीय भाषामा कोमा भनेको अचेत अवस्थामा पुगेको बिरामी, जसको फर्किने अवस्था कम हुन्छ  ।

केही समय नाफामा पनि थियो उद्योग

आर्थिक वर्ष २०६६/०६७ देखि २०६७/०६८ दुई वर्ष नाफामा रहेको उद्योग आर्थिक वर्ष २०६८/०६९ देखि २०७०/०७१ सम्म तीन वर्ष पुनः घाटामा गएको तथ्यांक प्रसासनसंग छ  । उद्योगले आर्थिक वर्ष २०७१/०७२ देखि आव २०७४/०७५ को ४ वर्ष अवधिमा पुनः नाफा गरे पनि त्यसयता निरन्तर घाटामा सञ्चालन हुँदै आएको छ ।

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

सिफारिस