सुनसरी / पाँचथरको कुम्मायक- २ मा समयमै अस्पताल लैजाने एम्बुलेन्स नपाउँदा सुत्केरी महिलाको मृत्यु भएको छ ।
प्रसूतिपश्चात अत्यधिक रक्तस्रावका कारण पाँचथरको कुम्मायक गाउँपालिका -२ मङजाबुङकी १९ वर्षीया मनिषा आचार्य (गड्तौला) को बुधबार साँझ उनको ज्यान गएको हो । गत पुस २० गते स्वास्थ्य चौकी मङजाबुङमा प्रसूतिका लागि ल्याइएकी उनले ११ बजे सामान्य अवस्थामा बच्चा जन्माएकी थिइन् ।
स्वास्थ्य चौकी माङ्जाबुङमा प्रसुति भइ सामान्य भएपछी स्वास्थ्य चौकी माङ्जाबुङबाट घर लैजान आफन्तहरु जम्मा भएका थिए तर एक्कासी बेहोस भएपछी आफन्तले जिल्ला अस्पताल लैजान एम्बुलेन्स खोजे पनि समयमै एम्बुलेन्स नभेटिएको र पर्याप्त समय नहुँदा अस्पताल पुर्याउन ढिलो भएको उनका आफन्तले बताएका छन् ।
जिल्ला अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रबाहेक पाँचथरका अन्य स्वास्थ्य संस्थामा प्रसूति सेवा उपलब्ध छैन । मृतक किशोरीका श्रीमान् वैदेशिक रोजगारीका लागि गएका छन् ।