इटहरी | कोशी प्रदेशमा सवारी साधनको गति कम गर्नका निम्ति टाइम कार्ड लागू गर्ने निर्णय भएको छ ।
सोमबार इटहरी उपमहानगरपालिकामा मेयर हेमकर्ण पौडेलसहित सुनसरीका प्रुमख जिल्ला अधिकारी रामचन्द्र तिवारी, प्रहरी प्रमुख एसपी सुमन तिम्सिना, ट्राफिक कोशी प्रदेशका एसपी विनोद घिमिरे, कोशी यातायात व्यवसायी संघका अध्यक्ष सरोज श्रेष्ठ लगायत सरोकारवाला निकायसहितको बैठकले ‘टाइम कार्ड’ लागू गर्ने निर्णय भएको हो ।
‘टाइम कार्ड’ लागू गरेपछि सवारी साधनको ‘स्पीड’ कम हुने र दुर्घटना न्यूनीकरण हुने विश्वास गरिएको छ ।
१५ दिनभित्रमा ‘टाइम कार्ड’ लागू गर्ने निर्णय भएको मेयर पौडेलले जानकारी दिए । ‘१५ दिनभित्रमा टाइम कार्ड लागू गर्ने र अतिक्रमित क्षेत्रका सडक, पेटी क्लियर गर्ने निर्णय भएको छ,’ उनले भने, ‘ट्राफिक व्यवस्थापन चुस्त, दुरुस्त बनाउन पनि सबै सरोकारवाला निकाय गम्भीर भएका छौँ, सोहीअनुसार निर्णय भएको छ ।’
आइतबार काकडभिट्टाबाट विराटनगरतर्फ जाँदै गरेको मे १ ख ७५७४ नम्बरको नागरिक यातायातको ठक्करबाट इटहरी १० की सजना यादवको मृत्यु भएको थियो । दुर्घटनापछि आक्रोशित स्थानीयबासीले बस जलाएका थिए । बस पूर्ण रूपमा जलेको छ भने राति ८ बजेसम्म आक्रोशित स्थानीयले प्रदर्शन गरेका थिए ।
खासगरी विद्यालयबाट घर फर्किदैँ गरेकी यादवलाई बस चालकले ठक्कर दिएको र ब्याक गरेर किचेर मारेको प्रत्यक्षदर्शीले बताएका छन् । घटनापछि उग्ररूप लिएको थियो ।
सोही विषयसँगै दुर्घटना न्यूनीकरण कसरी गर्न सकिन्छ भन्नेबारे उपमहानगरमा बैठक बसिएको हो ।
बैठकमा सहभागी सडक–पुल सहयोग इकाई कार्यालय कोशीका प्रमुख सूर्यनारायण चौधरीले बस चालकको गम्भीर लापरबाहीका कारण नागरिकको हैसियतले मानिस ढुक्क भएर सडकमा हिँड्न सक्ने वातावरण नरहेको बताए । ‘ड्राइभरलाई लाइसेन्स मात्रै होइन, ओरियन्टेसन आवश्यक छ,’ उनले भने, ‘हिजोको घटनामा ड्राइभरलाई माफी दिने त सवाल नै हुँदैन । ब्याक गरेर किचेर मारेको कुरा छ, यो गम्भीर लापरबाही हो ।’
स्थानीयबासी तथा पत्रकार सन्तोष यादवले पेटी व्यवस्थापन गर्नुपर्ने कुरा उठाए । पालिकाले सडक पेटी व्यवस्थापन गरेमात्रै पनि धेरै हदसम्म दुर्घटना न्यूनीकरण हुने उनको भनाइ छ । खासगरी सडक विभागले ६ लेन सडकमा खोलाको डीपीआर बनाउनुपर्ने ठाउँमा, नालाको डीपीआर बनाएको र डिभाइडर नभएको ठाउँमा दुर्घटना बढिरहेको उनले बताए ।
‘जहाँ डिभाइडर छैन, त्यहाँ धेरै दुर्घटना र क्षति भएको छ,’ उनले भने, ‘पालिकाले बजेट नै खर्च नगरीकन पेटी व्यवस्थापन गर्न सक्छ । बरू हामीलाई एक वर्षको उपभोक्ताको बजेट नदिनु, तर पेटी व्यवस्थापन गर्नुपर्छ ।’ यातायात व्यवसायीको तर्फबाट उपस्थित भएका सरोजले बसहरूले सर्भिस लेनबाट चलाउनुपर्ने बाध्यता रहेको बताए ।
बैठकमा सुनसरीका प्रमुख जिल्ला अधिकारी तिवारीले दोषी कोही पनि नउम्किने बताए । ‘लापरबाहीपूर्वक गाडी चलाउने र दोषी जो कोही पनि कारबाहीको भागिदार हुन्छ,’ उनले भने, ‘हामी आफैँ ट्राफिक नियमबारे शिक्षित हुन जरूरी छ । अब टाइम कार्ड लागू भएपछि धेरै हदसम्म दुर्घटना न्यूनीकरण हुने विश्वास गरिएको छ ।