कोशी | कोशी प्रदेश सरकारले २०८२ साललाई ‘पर्यटन वर्ष’ घोषणा गरेसँगै प्रदेशभर पर्यटकीय गतिविधि प्रवर्द्धनका लागि व्यापक तयारी सुरु गरेको छ। गत सेप्टेम्बर २७ मा विश्व पर्यटन दिवसको अवसरमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले यस घोषणा गर्दै कोशी प्रदेशलाई प्रमुख पर्यटन गन्तव्यका रूपमा स्थापित गर्ने महत्वाकांक्षी योजना अघि सारेका थिए।
बिहीबार, सुनसरीस्थित कोशीटप्पु वन्यजन्तु आरक्ष कार्यालयमा आयोजित मूल आयोजक समितिको पहिलो बैठकले ‘पर्यटन वर्ष २०८२’ का प्राथमिकताहरू र योजनाबारे छलफल गर्यो। मुख्यमन्त्री कार्कीको नेतृत्वमा बसेको उक्त बैठकले कोशी प्रदेशका १४ वटै जिल्लाका पर्यटकीय गन्तव्यहरूको पहिचान, संरचना विकास, र प्रवर्द्धनमा जोड दिने निर्णय गर्यो।
बैठकमा पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विशाल घिमिरेले प्रस्तुत आधारपत्रमा प्रदेशका ८२ प्रमुख पर्यटकीय गन्तव्यको सूची प्रस्तुत गरे। यसमा चियाबारी पदमार्ग, फाल्गुनन्द पदमार्ग, लालीगुराँस पदमार्ग, र मुन्दुम पदमार्गजस्ता पर्यटकीय पदमार्गलाई प्राथमिकतामा राखिएको छ। यी पदमार्गहरूलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्दै पर्यटकहरूको चाप बढाउने लक्ष्य लिइएको छ।
कोशी प्रदेश सरकारले पर्यटन पूर्वाधारको विकासका लागि १ अर्ब ७ करोड रुपैयाँ र ‘पर्यटन वर्ष’ का विशेष कार्यक्रमका लागि १० करोड रुपैयाँ छुट्याएको छ। सचिव घिमिरेका अनुसार, यी गन्तव्यहरूको विकास र प्रवर्द्धनमा दीर्घकालीन रणनीति अपनाइनेछ। यस रणनीतिअन्तर्गत विज्ञापन, डिजिटल प्रवर्द्धन, र पर्यटन क्षेत्रका नीतिगत सुधारहरूमा प्राथमिकता दिइनेछ।
मुख्यमन्त्री कार्कीले सरकारी पहल मात्र पर्याप्त नरहेको उल्लेख गर्दै निजी क्षेत्रको सक्रिय सहभागिता आवश्यक रहेको बताए। “पर्यटन क्षेत्रको दिगो विकास निजी क्षेत्र र सरकारी निकायको सहकार्यबाट मात्रै सम्भव छ। यो सहकार्यले रोजगारी सिर्जना र आर्थिक वृद्धिमा टेवा पुर्याउनेछ,” उनले भने।
१५ लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य
‘पर्यटन वर्ष २०८२’ लाई सफल बनाउन प्रदेश सरकारले भारत, चीन, बङ्गलादेश, र भूटानबाट १५ लाखभन्दा बढी पर्यटक भित्र्याउने लक्ष्य राखेको छ। कोशी प्रदेशका प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता, र ऐतिहासिक सम्पदालाई विश्वसामु चिनाउँदै आन्तरिक र बाह्य पर्यटकको संख्या वृद्धि गर्ने उद्देश्य राखिएको छ।
नेपाल उद्योग वाणिज्य महासंघ, कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले निजी क्षेत्र यो लक्ष्य हासिल गर्न सहयोग गर्न तयार रहेको जानकारी दिए। उनले भने, “हामी पर्यटन क्षेत्रलाई आर्थिक समृद्धिको मेरुदण्ड बनाउन सरकारलाई आवश्यक सहयोग गर्न तयार छौं।”
प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले पर्यटन वर्षलाई केवल वार्षिक कार्यक्रमका रूपमा नभई दीर्घकालीन रणनीतिक आधार बनाउने बताए। “यस अभियानले कोशी प्रदेशलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा एक प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न मद्दत गर्नेछ,” उनले भने।
प्रदेशका १४ वटै जिल्लाका प्रमुख र विभिन्न क्षेत्रका व्यवसायीहरूको सहभागितामा सम्पन्न पहिलो बैठकले प्रत्येक जिल्लामा छलफल र योजनाहरू निर्माण गर्दै पर्यटन वर्षलाई प्रभावकारी बनाउन निर्णय गर्यो।
कोशी प्रदेशले ‘पर्यटन वर्ष २०८२’ लाई केवल पर्यटकीय गतिविधि प्रवर्द्धनका लागि मात्रै नभई प्रदेशको समग्र आर्थिक वृद्धिको आधार बनाउने उद्देश्य राखेको छ। प्राकृतिक, सांस्कृतिक, र ऐतिहासिक सम्पदालाई प्रवर्द्धन गर्दै प्रदेशले दीर्घकालीन विकासका लागि यो कार्यक्रमलाई ‘माइलस्टोन’ बनाउने योजना अघि सारेको छ।