हेटौँडा | मकवानपुरगढी, नेपालको इतिहासको एउटा जिवन्त स्मारक हो, जसले गोरखाली सेनाको वीरता र नेपाल एकीकरणको सुरुवाती चरणको कथा बोल्छ। सन् १७६२ मा पृथ्वीनारायण शाहको नेतृत्वमा गोरखाली सेनाले मकवानपुरगढीमा तत्कालीन विदेशी सेनालाई परास्त गर्दै नेपालको एकीकरणको आधारशिला राखेका थिए। यो विजय नेपाली इतिहासमा मात्र होइन, दक्षिण एशियामा पनि शौर्य र रणनीतिक कौशलको प्रतीकका रूपमा स्थापित भएको थियो।
मकवानपुरगढी नेपालको सेनवंशीय शासनकालमा महत्वपूर्ण व्यापारिक र प्रशासनिक केन्द्र रहेको इतिहासविद् डा. रमेश ढकालले बताउछन् । यो गढी तत्कालीन भारतको मुगल साम्राज्यसँग व्यापारिक सम्बन्ध विस्तार गर्नका लागि समेत प्रयोग गरिन्थ्यो। इतिहासविद्हरूका अनुसार, पृथ्वीनारायण शाहले यो गढीलाई आफ्नो अभियानको लागि निर्णायक मोर्चाका रूपमा प्रयोग गरेका थिए। गोरखाली सेनाले मकवानपुरगढीमा विदेशी सेनालाई पराजित गर्दै एकीकृत नेपाल निर्माणको मार्ग प्रशस्त गरेका थिए।
२६२ औं विजय उत्सवको महत्त्व
आज, मकवानपुरगढीमा २६२ औं विजय उत्सवको आयोजनासहित यो ऐतिहासिक क्षणलाई स्मरण गरियो। मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ गढी परिसरमा आयोजित कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, बागमती प्रदेशका मुख्यमन्त्री, प्रयटन मन्त्री र स्थानीय बासिन्दाको सहभागिता थियो। मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङतानले कार्याक्रमको सभाध्यक्षता गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि, बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले मकवानपुरगढीलाई नेपालको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने प्रतिबद्धता जनाए। उनले गढीलाई संरक्षण गर्दै अन्तर्राष्ट्रिय स्तरको गन्तव्य बनाउन मास्टर प्लानको आवश्यकता रहेको बताए।
मुख्यमन्त्री लामाले भने, “मकवानपुरगढी केवल ऐतिहासिक धरोहर होइन, यो नेपालको पहिचान हो। यसको संरक्षण र प्रवर्द्धनबाट हामीले हाम्रो इतिहासलाई जोगाउनुका साथै पर्यटनमार्फत स्थानीय आर्थिक अवस्थामा सुधार गर्न सक्छौं।”
स्थानीय उत्पादनको प्रदर्शनी
यस वर्षको विजय उत्सवको अर्को आकर्षण स्थानीय रैथाने उत्पादन र परिकारको कृषि मेला थियो। मेलामा कोदो, फापर, आलु, घ्यू जस्ता स्थानीय उत्पादनहरू र परम्परागत परिकारहरू प्रदर्शनीमा राखिएका थिए।
मकवानपुरगढीमा स्थानीय प्रशासनले यस क्षेत्रमा पर्यटकीय पूर्वाधार विकास गर्न थालिसकेको भए पनि पर्याप्त बजेट र दीर्घकालीन योजना नहुँदा गढीको पूर्ण क्षमता उपयोग हुन सकेको छैन। मुख्यमन्त्री लामाले भनेझैं, मकवानपुरगढीलाई मास्टर प्लानअनुसार विकास गर्न सके नेपाललाई मात्र होइन, अन्तर्राष्ट्रिय पर्यटकलाई पनि आकर्षित गर्न सकिन्छ।
मकवानपुरगढीको विजय उत्सव केवल इतिहासको सम्झना मात्र होइन, यसले स्थानीय स्तरमा पर्यटकीय विकास, सांस्कृतिक संरक्षण, र आर्थिक समृद्धिको अभियानलाई पनि अघि बढाएको छ। यस गढीलाई राष्ट्रिय धरोहरको रूपमा विकसित गर्दै अन्तर्राष्ट्रिय स्तरको पर्यटकीय गन्तव्य बनाउन आवश्यक छ।
यो गढीले नेपाल एकीकरणको सपना पूरा गरेको ऐतिहासिक स्थलमात्र होइन, नयाँ पुस्तालाई प्रेरणा दिने सांस्कृतिक केन्द्र बन्न सक्दछ।