Friday, February 7, 2025
बागमती प्रदेशमकवानपुरशहिद परिवारको सम्मान गर्दै सशस्त्र प्रहरी बल मकवानपुरले मनायो २४ औं सशस्त्र...

शहिद परिवारको सम्मान गर्दै सशस्त्र प्रहरी बल मकवानपुरले मनायो २४ औं सशस्त्र प्रहरी दिवस

हेटौँडा। सशस्त्र प्रहरी बल, नेपाल नम्बर १४ गण हेडक्वार्टर मकवानपुरले २४ औं सशस्त्र प्रहरी दिवस विशेष कार्यक्रमको आयोजना गरी मनाएको छ। मकवानपुर, हेटौंडा उपमहानगरपालिका–८, मैदाटोलस्थित गण परिसरमा आयोजित कार्यक्रममा सशस्त्र प्रहरी उपरीक्षक (एसपी) ज्ञानप्रसाद भूर्तेल प्रमुख अतिथिको रूपमा सहभागी थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै एसपी भूर्तेलले जस्तोसुकै कठिन परिस्थितिमा पनि विचलित नभई देश र जनताप्रतिको सेवामा समर्पित रहन सशस्त्र प्रहरी कर्मचारीलाई निर्देशन दिए । उनले संगठनले आर्जित सेवाभाव र प्रतिष्ठालाई कायम राख्न सबै कर्मचारीको योगदान महत्त्वपूर्ण रहेको बताउँदै आफ्नो कार्यक्षमतालाई अझै सुदृढ गर्न आग्रह गरे ।

कार्यक्रममा २०६१ साल वैशाख २१ गते वीरगति प्राप्त गरेका सशस्त्र प्रहरी सहायक निरीक्षक महेन्द्र कक्षपतिको परिवारलाई सम्मान गरिएको थियो। शहिदकी धर्मपत्नी सिता कक्षपतिलाई दोसल्ला ओढाउँदै नगद २५ हजार रुपैयाँ प्रदान गरियो। यससँगै, कक्षपतिले शहादत प्राप्त गरेको बकैया गाउँपालिका–४ स्थित छत्रेश्वर महादेव मन्दिर परिसरमा सशस्त्र प्रहरी बलले निर्माण गरेको स्मृतिशिलालेख सार्वजनिक गरिएको छ। यो शिलालेखले उनको बलिदानलाई सम्झिरहन सहयोग गर्ने विश्वास गरिएको छ।

सशस्त्र प्रहरी दिवसको अवसरमा आफ्नो सेवा र कार्यसम्पादनमा उत्कृष्टता प्रदर्शन गर्ने सशस्त्र प्रहरी कर्मचारीहरूलाई प्रशंसा पत्र प्रदान गरियो। त्यसैगरी, सप्ताहव्यापी खेलकुद प्रतियोगिताका विजेता टोलीहरूलाई प्रमाणपत्र र पुरस्कार वितरण गरियो।

एसपी भूर्तेलले संगठनप्रतिको निष्ठा र सेवाभावलाई मजबुत बनाउँदै अघि बढ्न सबै कर्मचारीलाई प्रेरित गरे । उनले सशस्त्र प्रहरी बलको मुख्य उद्देश्य देश र जनताको सेवा भएको भन्दै आगामी दिनमा पनि यो प्रतिबद्धता अझै सुदृढ गर्ने अपेक्षा व्यक्त गरे ।

सशस्त्र प्रहरी दिवसले कर्मचारीहरूको मनोबल उच्च बनाउनुका साथै संगठनको सेवाभावलाई बलियो बनाउने उद्देश्य राखेको छ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img

सिफारिस