Sunday, February 16, 2025
देशलुम्बिनी प्रदेश'पढ्न पाएनौँ, बालविवाह रोकिदिनु पर्‍यो'

‘पढ्न पाएनौँ, बालविवाह रोकिदिनु पर्‍यो’

कपिलवस्तु | बालविवाहको परम्परागत प्रचलनले यहाँका बालिकाहरू अझै पनि आफ्नो अधिकारबाट वञ्चित भइरहेका छन्। पढाइ र व्यक्तित्व विकासका अवसरहरूबाट टाढा पार्दै समाजमा बालविवाहको समस्या जारी रहेको छ। यसै सन्दर्भमा, शिवराज नगरपालिका–११ थुन्हियामा आयोजित एक कार्यक्रममा सहभागी बालिकाहरूले बालविवाहको असर र आफ्ना पीडाहरू नगरप्रमुख अजय थापासमक्ष राखेका छन्।

कार्यक्रममा सहभागी बालिकाहरूले समाजमा चेतनाको अभावका कारण बालविवाह रोक्न गाह्रो भएको बताउँदै, आफूहरूको जीवन र भविष्यमाथि यसले गम्भीर असर पुर्‍याएको बताए। बालिकाहरूले खुलेर आफ्नो मनको कुरा राख्दै भने, “हामीलाई पढ्ने अवसर चाहिएको छ। तर घरपरिवारले विवाह गरेर हाम्रो भविष्य थुनेका छन्।” एक किशोरीले भावुक हुँदै भनिन्, “मेरो पढ्ने ठूलो सपना छ, तर मेरो विवाह गरिदिनुभयो। अब म पढ्न चाहन्छु, मेरो पढाइ रोकिएको छ।”

बालिकाहरूका कुरा सुनेपछि नगरप्रमुख थापाले गहिरो दुःख व्यक्त गर्दै बालविवाहलाई सामाजिक अपराधका रूपमा व्याख्या गरे। उनले भने, “बालविवाह गर्ने जोसुकै व्यक्ति र परिवारलाई कानुनी दण्ड दिइनेछ। यस्तो समस्या रोक्न हामी गम्भीर छौँ।” मेयर थापाले जनचेतना अभियानलाई तीव्र बनाउँदै बालविवाहविरुद्ध ठोस कदम चाल्ने प्रतिबद्धता व्यक्त गरे। साथै, बालविवाहको घटनामा पीडित बालिकाहरूको उद्धार र पुनर्स्थापनाका लागि पनि नगरपालिकाले पहल गर्ने आश्वासन दिए।

बालविवाहमात्र होइन, विद्यालयका विभिन्न समस्याहरू पनि कार्यक्रममा उठाइए। सुमन चौधरी नामक एक बालिकाले विद्यालयमा पुस्तकालय र शौचालयको अभाव रहेको बताइन्। अन्य बालबालिकाहरूले विद्यालयका भवन जीर्ण रहेको, खानेपानीको समस्या, खेलमैदानको अभाव, र कम्प्युटर ल्याबको आवश्यकता रहेको उल्लेख गरे। बालबालिकाहरूले भने, “हाम्रो पढाइलाई प्रभावकारी बनाउन यी आधारभूत सुविधाहरू हुनु अत्यन्त जरुरी छ।”

नगरप्रमुख थापाले यी समस्याहरूको समाधानका लागि नगरपालिकाले योजना बनाइरहेको बताए। “हामीले हालै सित्लापुरमा नयाँ चार कोठे भवन निर्माण सुरु गरेका छौँ। शिक्षामा गुणस्तर सुधार्न नगरपालिकाले कुनै राजनैतिक दबाबमा नपरी काम गर्नेछ,” उनले बताए।

कार्यक्रममा मेयर थापाले सामुदायिक विद्यालयहरूको गुणस्तर सुधार्न आफूहरूको प्राथमिकता रहेको प्रस्ट पारे। “हामीले पुस्तकालय, शौचालय र अन्य आधारभूत संरचनाको विकासका लागि काम गरिरहेका छौँ। शिक्षामा व्यवहारिक पक्षलाई समेट्न आवश्यक छ। सामुदायिक विद्यालयका शिक्षकहरूले आफ्ना सन्तानलाई निजी विद्यालयमा पढाउने प्रचलनले जिम्मेवारीबाट पन्छिन खोजेको देखाउँछ,” उनले भने। “हामी आफैँले सिकाउन चाहेको शिक्षामा विश्वास गर्नुपर्छ र सामुदायिक शिक्षालाई सशक्त बनाउन सबैको सहकार्य जरुरी छ।”

बालविवाहका घटनामा कमी ल्याउन मेयर थापाले स्थानीय तह, विद्यालय, र समुदायको भूमिका महत्त्वपूर्ण हुने बताए। बालविवाह विरुद्ध जनचेतना फैलाउन एक्सन एड नेपाल र शिवराज नगरपालिकाको प्राविधिक तथा आर्थिक सहयोगमा आयोजित कार्यक्रममा सिद्धार्थ सामाजिक विकास केन्द्रले समन्वय गरेको थियो। कार्यक्रममा शिक्षक, विद्यार्थी, स्थानीय बुद्धिजीवी, र पत्रकारहरूको उपस्थिति रहेको थियो।

नगरप्रमुख थापाले भने, “हामीले बालविवाहजस्तो गम्भीर समस्या रोक्न हरेक उपाय अबलम्बन गर्नेछौँ। बालिकाहरूलाई शिक्षा र अधिकार सुनिश्चित गर्न सबैले सामूहिक रूपमा पहल गर्नुपर्छ।” साथै, बालविवाह पीडित र शिक्षा वञ्चित बालिकाहरूका लागि उनले नगरपालिकाबाट आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाए।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img