Saturday, February 15, 2025
देशबागमती प्रदेशविद्यार्थी बिरामी हुन थालेपछि विद्यालय बन्द

विद्यार्थी बिरामी हुन थालेपछि विद्यालय बन्द

सिन्धुपाल्चोक  | विद्यार्थी र शिक्षक धमाधम बिरामी पर्न थालेपछि सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–४ स्थित थाङपाल भ्याली माध्यमिक विद्यालय केही दिनका लागि बन्द गरिएको छ। रुघाखोकी, ज्वरोलगायतका रोगले महामारीको रूप लिन सक्ने जोखिम देखिएपछि विद्यालय व्यवस्थापन समितिले विद्यालय बन्द गर्ने निर्णय गरेको हो।

विद्यालयका प्रधानाध्यापक विनोद लामाका अनुसार, बिरामीको संख्या दिनदिनै बढ्दै जाँदा बाध्यतावश यो कदम चाल्नु परेको हो। “ज्वरो र रुघाखोकीको समस्या तीव्र रूपमा फैलिन थालेपछि शिक्षक र विद्यार्थीलाई थप जोखिमबाट बचाउनका लागि शिक्षण कार्य बन्द गरिएको छ,” उनले जानकारी दिए ।

विद्यालयको प्रशासनिक काम भने सुचारु रहे पनि पठनपाठनका गतिविधि पूर्ण रूपमा रोकिएका छन्। प्रधानाध्यापकका अनुसार, स्थानीय स्वास्थ्य संस्था, मेलम्ची अस्पताल र धुलिखेल अस्पतालमा बिरामी शिक्षक र विद्यार्थीको उपचार भइरहेको छ।

यस वर्षको जाडोले लेकाली क्षेत्रमा स्वास्थ्य समस्या तीव्र बनेको छ। सिन्धुपाल्चोकको हिमाली क्षेत्रमा पर्ने करिब एक सयभन्दा बढी सामुदायिक विद्यालय साता दिनका लागि बन्द गरिएको छ। चिसो मौसमले विद्यार्थी र शिक्षकको स्वास्थ्यमा गम्भीर असर परिरहेकोले यो निर्णय आवश्यक भएको विद्यालय व्यवस्थापन समितिले जनाएको छ।

स्थानीय स्तरमा चिसोबाट बच्ने उपायको कमी र स्वास्थ्य संस्थाहरूमा भीड बढ्दै जाँदा स्थिति अझै चुनौतीपूर्ण बनेको छ। विद्यालय बन्दले केही राहत दिने अपेक्षा गरिए पनि चिसोले सिर्जना गरेको स्वास्थ्य समस्या समाधान गर्न दीर्घकालीन उपायको खोजी आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन्।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img