सुनसरी | केही दिनदेखि बढेको चिसोले सुनसरी जिल्लाको जनजीवन प्रभावित बनाएको छ। बाक्लो हुस्सु र चिसो हावाका कारण सदरमुकाम इनरूवासहित जिल्लाका विभिन्न क्षेत्रका बासिन्दा थप कठिनाइमा परेका छन्। इनरुवा, भोक्राहा, कोशी, गढी, दुहबी, रामधुनी, इटहरी, धरान, बराहक्षेत्र, हरिनगर, देवागञ्जलगायतका ठाउँमा चिसोले जनजीवन कष्टकर बनेको छ।
स्थानीय मनोज यादवका अनुसार, चिसोका कारण विशेषगरी दैनिक मजदुरीमा निर्भर स्थानीय बढी जोखिममा रहेका छन्। बिहानै बाक्लो हुस्सु र कठ्यांग्रिने चिसोले गर्दा मजदुरी गर्न घरबाट बाहिर निस्कन समस्या भएको उनले बताए। कोशी–७ का झगडु सदा भन्छन्, “हामी मजदुरी गरेर परिवार पाल्छौं। चिसोका कारण घरबाहिर काममा जान पनि गाह्रो भइरहेको छ।”
स्थानीय चन्दन मेहताले चिसोका कारण मानिसलाई घरभित्रै बस्न बाध्य बनाएको बताए। अत्यधिक चिसोका कारण दैनिकी चलाउन समस्या हुने गरेको उनले थपे। विशेषगरी गरिब तथा विपन्न वर्गका मानिस चिसोको प्रत्यक्ष मारमा परेको देखिन्छ।
चिसो र हुस्सुले जनजीवनमा परेको असरलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल ४ नम्बर गण सुनसरीले प्रभावित स्थानीयलाई दाउरा वितरण गरेको छ। सशस्त्र प्रहरी उपरीक्षक समेनन्द बज्राचार्यका अनुसार, सीमा क्षेत्रका लौकही, घुस्की, देवागञ्जलगायतका स्थानमा दाउरा वितरण गरेर आगो ताप्ने व्यवस्था मिलाइएको छ। चिसोबाट बच्नका लागि गरिएका यस्ता प्रयासले केही राहत मिल्ने अपेक्षा गरिएको छ।
सशस्त्र प्रहरीद्वारा गरिएको दाउरा वितरणलाई स्थानीयले सकारात्मक रुपमा लिएका छन्। उनीहरूले यस्ता राहत प्रयासले विपन्न वर्गका मानिसलाई चिसोबाट बच्न केही सहज हुने विश्वास व्यक्त गरेका छन्।
हालको अत्यधिक चिसो मौसमले सुनसरीका धेरैजसो ठाउँको दैनिकी नै अस्तव्यस्त बनाइरहेको छ। चिसोको मारमा परेका मजदुर वर्गका लागि तत्काल राहतको आवश्यकता रहेको स्थानीयले बताएका छन्। साथै, जिल्लाभरि चिसोबाट जोगाउन थप कदम चाल्न आवश्यक रहेको सरोकारवालाहरूले जोड दिएका छन्।