भोजपुर | भोजपुरको हतुवागढी ७ पिप्लेमा आगलागीबाट ज्यान गुमाएका बालबालिकाको परिवारलाई कोसी प्रदेश सरकारले एक लाखका दरले राहत रकम उपलब्ध गराएको छ । मंगलबार मुख्यमन्त्री केदार कार्कीले पीडितलाई समवेदना दिँदै ज्यान गुमाएका बालबालिकाका दुई परिवारलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट एक लाखका दरले राहत रकम हस्तान्तरण गरेका हुन् ।
राहत हस्तान्तरण गर्दै मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले दुःखको समयमा सरकारले मलमपट्टी लगाएको उल्लेख गरे । चेक हस्तान्तरण कार्यक्रममा भोजपुरबाट कोशी प्रदेशमा निर्वाचित सांसद विनोद राई, सृजना राई, कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेललगायत स्थानीय जनप्रतिनिधि सहभागी भएका थिए ।
शनिबार आगलागीमापरि स्थानीय रमेश कार्कीका ५ वर्षीया छोरी दिप्सीका कार्की, ३ वर्षीय छोरा दिउनिष कार्की र केदार कार्कीका ४ वर्षीय छोरा प्रनिष कार्कीको ज्यान गएको थियो । मुख्यमन्त्री कार्कीले अहिलेको समय हावाहुरीका साथै आगलागी बढी हुने भएकाले सावधान रहन अपिल गरे ।