इटहरी | पाथीभरा मन्दिर इलामको धार्मिक तथा पर्यटकीय केन्द्रको रूपमा स्थापित हुँदै गएको छ । केवल आठ महिनाको अवधिमा यहाँ करिब एक करोड रुपैयाँभन्दा बढी भेटी सङ्कलन भएको छ, जुन मन्दिरप्रति श्रद्धालुहरूको विश्वास र आस्थाको प्रतिबिम्ब हो ।
रोङ गाउँपालिकाको पाथीभरा मन्दिरमा चालु आर्थिक वर्षको साउनदेखि फागुन महिनासम्म कूल एक करोड चार लाख ५९ हजार एक सय ६४ रुपैयाँ भेटी सङ्कलन भएको छ । जसमध्ये ९९ लाख ६४ हजार ५६ रुपैयाँ नगद र बाँकी चार लाख ९५ हजार एक सय आठ रुपैयाँ बराबरको विभिन्न धातुका सामग्रीहरू छन् ।
मन्दिरमा भेटी स्वरूप सुन, चाँदी लगायतका धातुहरू पनि दान स्वरूप प्राप्त भएका छन् । महिना महिनामा विभिन्न रकमहरू सङ्कलित भएका छन्, जसमा सबैभन्दा बढी कात्तिक महिनामा २१ लाख १० हजार रुपैयाँ नगद र ५९ हजार नगदबराबरको जिन्सी प्राप्त भएको थियो ।
पाथीभरा मन्दिरलाई रोङ गाउँपालिकाले स्वामित्व लिएपछि यसको आम्दानी पारदर्शी रूपमा सार्वजनिक गर्न थालिएको छ । गाउँपालिकाले पाथीभरा संरक्षण तथा व्यवस्थापन ऐन, २०७९ बनाई मन्दिरलाई आफ्नो स्वामित्वमा लिएको छ र यहाँ प्राप्त हुने सम्पूर्ण आम्दानी मन्दिर तथा क्षेत्रको विकासमा नै खर्च गरिने गाउँपालिका अध्यक्ष मणिकुमार स्याङ्बोले बताउनुभएको छ ।
गत वर्षको फागुन महिनादेखि असारसम्मको अवधिमा समेत ९२ लाख ९५ हजार रुपैयाँभन्दा बढी भेटी सङ्कलन भएको थियो । पाथीभरा मन्दिरमा दिनानुदिन श्रद्धालुहरूको बढ्दो आगमनसँगै मन्दिरको आम्दानीमा समेत वृद्धि भइरहेको देखिन्छ । यसलाई मन्दिरको उचित संरक्षण र व्यवस्थापन गर्नुका साथै क्षेत्रको पूर्वाधार विकासमा समेत सदुपयोग गर्न सकिने देखिन्छ ।