संखुवासभा: संखुवासभाको चैनपुर नगरपालिका-६, जिरो पोइन्टस्थित चैनपुर नुनढाकी सडकखण्डमा बसले किचेर सहचालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा धनकुटा नगरपालिका ६ पात्लेखोलाका ३० वर्षीय मनोज खड्का रहेको प्रहरीले जनाएको छ । मंगलबार बिहान नुनढाकीबाट इटहरीतर्फ आउँदै गरेको को १ ख ३०७७ नम्बरको बसको ढोकाबाट झर्दा बसको पछाडिको टायरले किचेर सहचालक खड्का गम्भीर घाइते भएका थिए ।
उनलाई उपचारको लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको हो । बस र चालक धनकुटाको साँगुरीगढी गाउँपालिका १ का ३३ वर्षीय कुमार उपाध्यायलाई इलाका प्रहरी कार्यालय चैनपुरले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।