इटहरी । प्रेम र आदरको अटुट बन्धन यसरी टुटेको देख्दा हृदय विदारक अनुभूति हुन्छ। इटहरी उपमहानगरपालिका-१३ खनारकी जोडी श्रीमान् टिकाप्रसाद र श्रीमती नर्वदा भट्टराईले जीवनभर एक-अर्काप्रति राखेको आदर र प्रेमलाई मृत्युले पनि छुट्याउन सकेन।
विवाहमा ७ जन्मसँगै बाँच्ने कसम खाएर बाँधिएको बन्धन, मृत्युपछि पनि अविच्छिन्न रह्यो। मङ्गलबार एकै दिन श्रीमान् र श्रीमतीको निधन भएको छ। उनीहरुको शवलाई एउटै चितामा दाहसंस्कार गरिएको छ।
७८ वर्षीया नर्वदाको बिहान ७:४५ मा निधन भएको थियो। आमाको निधनले परिवारमा दुःख छायो। यही बेला ८६ वर्षीय बुबा टिकाप्रसादलाई पनि ह्रदयघातले थिचोमिच पार्यो। मातृशोक भोगिरहेको परिवारमा पितृशोकको पनि थप मर्का पर्यो।
नेपाली समाज र शास्त्रमा एकैदिन श्रीमान्-श्रीमतीको निधन दुर्लभ घटनाका रुपमा लिइन्छ। तर यस्तो विरलै देखिने घटना खनारमा घटेको छ। सयौं वर्षको प्रेम र आदरको यो अन्तिम विदाईले सबैलाई हृदयविदारक अनुभूति दिएको छ।
दुवै शवलाई इटहरीमै परिक्रमा गराई स्थानीय बुढीखोलामा एउटै चितामा दाहसंस्कार गरिएको छ। अन्तिम समयमा पनि श्रीमान्-श्रीमती एक-अर्काको साथ छाड्न चाहेनन्।