विराटनगर | कोशी प्रदेशको चालु अधिवेशन अन्त्य गरिएको छ । चालु पाचौँ एवम् बजेट अधिवेशन शुक्रबार राति १२ बजेबाट लागू हुनेगरी अन्त्य गरिएको हो ।
प्रदेशको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यका लागि शुक्रबार प्रदेश प्रमुख परशुराम खापुङलाई सिफारिस गरेको थियो । सरकारको सिफारिसका आधारमा खापुङले संसद अधिवेशन अन्त्य गरेका हुन् ।
पाचौँ अधिवेशनमा २१ वटा संसद बैठक बसेको छ ।
२१ औं बैठकमा सभामुख अम्बरबहादुर विष्टले प्रदेश प्रमुखको कार्यालयले पठाएको अधिवेशन अन्त्यको सूचना पढेर सुनाएका छन् ।प्रदेशसभाको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट पारित गरेको पाचौँ एवं बजेट अधिवेशन गत वैशाख ३१ गतदेखि सुरु भएको थियो ।
अधिवेशनमा प्रदेश निजामती ऐन संशोधन विधेयक, केही प्रदेश ऐन संशोधनलाई जगाउने विधेयक, कृषि अनुदान सम्बन्धी व्यवस्थापन गर्न बनेको विधेयक संशोधन विधेयकलगायतका ऐन पारित भएको छ ।