हेटौँडा । अटिजम भएका बालबालिकालाई लक्षित गरी हेटौँडा उपमहानगरपालिकाले विशेष विद्यालय सञ्चालन गर्ने तयारी थालेको छ। विश्व अटिजम जनचेतना दिवसको अवसरमा आयोजित कार्यक्रममा नगर प्रमुख मीनाकुमारी लामाले हेटौँडा–११ थानाभर्याङमा विद्यालय सञ्चालनका लागि बजेट व्यवस्थापन गर्ने घोषणा गरेकी छन्।
उपमहानगरपालिकाले महिलाहरूका लागि भवन निर्माण गर्न तयार पारिएको स्थलमा विद्यालय सञ्चालन गर्ने योजना बनाएको छ। पछिल्लो समय अटिजम भएका बालबालिकाका अभिभावकहरूले निजी विद्यालयमा चर्को शुल्क तिर्नुपरेको गुनासो गर्दै आएका छन्। यसै सन्दर्भमा सबै वर्गका परिवारलाई लक्षित गरी सरकारी तहबाट विद्यालय सञ्चालन गरिने नगर प्रमुख लामाले बताइन्।
जनचेतना दिवसको अवसरमा सेन्टर फर अटिजम हेटौँडामा आयोजित कार्यक्रममा उनले समाजमा अटिजमबारे सही जानकारी नहुँदा समस्या देखिएको उल्लेख गर्दै, अब सुधारका उपायहरू अघि बढाइने बताइन्। अटिजम भएका र शारीरिक रूपमा अशक्त बालबालिकालाई एउटै ठाउँमा राख्दा चुनौती बढेको भन्दै उनले विद्यालयलाई व्यवस्थित ढंगले सञ्चालन गरिने प्रतिबद्धता जनाइन्।
नगर प्रमुख लामाले भनिन्, “नगर क्षेत्रमा रहेका सबै बालबालिकालाई शिक्षाबाट टाढा नराख्ने सोचसहित काम गरिरहेका छौं। अब अभिभावकहरूले ‘समाज के भन्ला’ भन्ने सोच त्यागेर बालबालिकाको हक सुनिश्चित गर्नुपर्नेछ।”
बालबालिकाको अवस्थाअनुसार शिक्षा आवश्यक
अहिले धेरै अभिभावकले अटिजम भएको थाहा नपाई आफ्ना बालबालिकालाई मन्टेसरी वा निजी विद्यालयमा भर्ना गराउँदा समस्या झन् जटिल बन्दै गएको उल्लेख गर्दै नगर प्रमुख लामाले बालबालिकाको अवस्थाबारे सचेत रहन आग्रह गरिन्।
हाल हेटौँडा उपमहानगरपालिका क्षेत्रका ३२ जना बालबालिका सेन्टर फर अटिजममा अध्ययन गरिरहेका छन्। कार्यक्रममा अभिभावकहरूले स्थानीय तह अटिजमसम्बन्धी जिम्मेवार बन्नुपर्ने माग गरेका थिए। सेन्टर फर अटिजमका उपाध्यक्ष शेखर थपलियाले अभिभावकहरूले बालबालिकाको अवस्था नबुझे समस्याहरू झन् बढ्ने बताएका छन्।
थपलियाले भने, “धेरै अभिभावक महँगो शुल्क तिरेर बालबालिकालाई निजी विद्यालय पठाउँछन्, तर त्यहाँ उनीहरूको उचित शिक्षाको ग्यारेन्टी छैन।” सेन्टर फर अटिजमका अध्यक्ष हरीकृष्ण मैनालीको अध्यक्षतामा आयोजित कार्यक्रममा सचिव अस्मिता कालिका, कोषाध्यक्ष निश्ला श्रेष्ठ, सदस्य उमा पौडेल, थेरापिस्ट डा. समिका श्रेष्ठलगायतको उपस्थिति थियो।
अटिजम के हो ?
हेटौँडा अस्पतालका बालरोग विशेषज्ञ डा. हरीबहादुर खड्काका अनुसार अटिजम बालबालिकाको बौद्धिक क्षमतामा असर पार्ने समस्या हो। उनले भने, “यो समस्या छोराभन्दा छोरीहरूमा बढी देखिएको अध्ययनहरूले देखाएका छन्।”
उनका अनुसार हरेक ३६ मध्ये १ जना बालबालिकामा अटिजम देखिन सक्छ। यो समस्या १८ देखि २४ महिनाको बीचमै पत्ता लगाउन सकिन्छ।
डा. खड्काका अनुसार, अटिजमको कुनै निश्चित औषधि छैन, तर विभिन्न प्रकारका थेरापी र विशेष शिक्षाको माध्यमबाट बालबालिकाको जीवन सहज बनाउन सकिन्छ। अटिजम भएका बालबालिकाहरूले अरूलाई वास्ता नगर्ने, आँखा जुधाएर कुरा गर्न नसक्ने, उमेरअनुसार बोल्न कठिनाइ हुने, र एकै व्यवहार बारम्बार दोहोर्याउने जस्ता लक्षण देखाउने उनले बताए।
हेटौँडा उपमहानगरपालिकाले अटिजम भएका बालबालिकाका लागि विशेष विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ। यसले निजी विद्यालयमा शुल्क तिर्न नसक्ने अभिभावकहरूलाई राहत दिने र बालबालिकाको उचित शिक्षामा पहुँच विस्तार गर्ने अपेक्षा गरिएको छ। स्थानीय सरकारको यो कदमले अटिजम भएका बालबालिकाहरूको भविष्य सुधारमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।