समाजबालेनलाई उपमेयर सुनिताको चुनौती : ‘कोठामा बसेर होइन, यहाँ आएर समाधान खोज्नुस्’

बालेनलाई उपमेयर सुनिताको चुनौती : ‘कोठामा बसेर होइन, यहाँ आएर समाधान खोज्नुस्’

काठमाडौं | काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं तीन महिना १४ दिनपछि कार्यालय पुगेका छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्देशनअनुसार गुरागाईंलाई पुनः हाजिर गराउन पहल भएको थियो।

गुरागाईं कार्यालय पुगेकै दिन मेयर बालेन साह र उपमेयर सुनिता डंगोलबीच चर्काचर्की परेको छ। मेयर साहको निर्देशनमा नगर प्रहरी परिचालित भएर गुरागाईंलाई रोक्ने प्रयास गरिए पनि उनी कार्यकक्ष प्रवेश गर्न सफल भए। तर, मेयर साहले कार्यकक्षमा ताला लगाएको कारण उनी बैठक हलमा बस्न बाध्य भए।

अनौपचारिक बैठकमा उपमेयर डंगोलले मेयर साहको आलोचना गर्दै भनिन्, “कसैको व्यक्तिगत मनमुटावले जनताको सेवा प्रभावित हुन हुँदैन। कोठामा बसेर आदेश दिनु राम्रो होइन, आउनुस्, मिलेर समस्या समाधान गरौं।”

उनले प्रशासनिक प्रमुखलाई रोक्नु अन्यायपूर्ण भएको बताउँदै, महानगरको नियमित सेवा अवरुद्ध हुनु निन्दनीय भएको उल्लेख गरिन्। “तीन महिनादेखि तलब नपाएका कर्मचारीहरू, सेवा नपाएका महानगरवासी, क्यान्सर पीडितका लागि राहत रोकिनु गम्भीर विषय हो। यदि कुनै छानबिन गर्नुपर्छ भने, त्यसको उचित प्रक्रिया अपनाउनुपर्छ।”

गुरागाईं कार्यालय प्रवेश गर्दा कर्मचारी र वडाध्यक्षहरू उनी पक्षमा उभिए। उनीहरूले मेयर साहको निर्णयको विरोध गर्दै “प्रशासकीय प्रमुखलाई हाजिर गराउन दिनुपर्छ” भन्ने नाराबाजी गरे।

महानगर प्रवक्ता नवीन मानन्धर र केही वडाध्यक्षहरूले पनि मेयर साहको शैलीको आलोचना गरे। नगर प्रहरी प्रमुख राजु पाण्डेले मेयरको मौखिक आदेशअनुसार कार्यकक्षमा ताला लगाएको खुलासा गरे।

प्रमुख प्रशासकीय अधिकृत नहुँदा काठमाडौं महानगरपालिकाका कर्मचारीहरूले तीन महिनादेखि तलब नपाएका छन्। विभिन्न सेवा–सुविधाहरू अवरुद्ध छन्, जसले लाखौं महानगरवासीलाई समस्या पुर्‍याइरहेको छ।

उपमेयर डंगोलले मेयर साहलाई अविलम्ब छलफलमा आउन आग्रह गर्दै भनिन्, “आजकै लागि यो समस्या समाधान गर्नुपर्छ, त्यसपछि मात्र बोर्ड बैठक बस्न सकिन्छ।”

यता, मेयर साहले यस विषयमा औपचारिक धारणा सार्वजनिक गरिसकेका छैनन्।

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img