हेटौँडा | मकवानपुर जिल्लामा पछिल्ला दिनमा सवारीसाधन चोरीका घटनाहरूले पुनः चर्चा पाउन थालेका छन्। साना सवारीदेखि ठूला ट्रकहरू समेत चोरी हुने क्रम तीव्र बनेको छ। ट्रक चोरीको घटना सेलाउन नपाउँदै, फेरि एक सातामै अर्को माइक्रो चोरी भएको छ, जसले जिल्लाको सुरक्षा व्यवस्थामाथि प्रश्न उठाएको छ।
हेटौँडा उपमहानगरपालिका–११, नवलपुरका नवीन बर्तौलाको घर अगाडि पार्क गरिएको भे. १ ज. १२०४ नम्बरको माइक्रोबस आइतबार राति चोरी भएको हो। खोजतलासपछि उक्त माइक्रो मनहरी गाउँपालिका–७ पुलिमुनि खोलाको छेउमा छाडिएको अवस्थामा फेला परेको हो। इलाका प्रहरी कार्यालय मनहरी का अनुसार, सवारी धनीलाई माइक्रो सोमबार बुझाइएको छ।
यसअघि पनि मनहरी गाउँपालिका–७, रमनटारका ट्रक चालक सोमबहादुर थिङको ट्रक (ना. ६ ख. ३६६१) चोरी भएको थियो। ट्रक आफ्नै घर नजिकै पार्क गरिएको थियो। खोजतलासका क्रममा उक्त ट्रक रजैया क्षेत्रको पूर्व–पश्चिम राजमार्गको जंगलमा भेटिएको थियो।
यो मात्र होइन, हेटौँडा–१० का बमबहादुर न्यौपानेको ना. २ ह. १३७१ नम्बरको अटो पनि आठ महिना अघिदेखि हराइरहेको थियो। उक्त अटो भरतपुर महानगरपालिका–११, सल्लेरी टोलबाट फेला परेको हो। अनुसन्धानका क्रममा नवलपरासी कुलिन्टार गाउँपालिका–१ का गोपाल श्रेष्ठ (३० वर्ष) र भरतपुर–११ का शंकर ढकाल (३२ वर्ष) पक्राउ परेका छन्।
सवारीधनीहरू अब आफ्नै घर अगाडि पार्किङ गर्न समेत डराउन थालेका छन्। रातको समयमा पार्क गरिएको सवारी हराउनु सामान्य हुन थालेको छ। चोरीका घटनाहरू बढ्दो हुँदा स्थानीयले प्रहरी प्रशासनसँग सुरक्षा व्यवस्था कडा गर्न माग गरेका छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी श्यामु अर्याल का अनुसार, चोरीका घटनामा संलग्न व्यक्तिहरूको खोजी तीव्र पारिएको छ। ‘सवारी साधन हराएको सूचना प्राप्त भएलगत्तै हामी टोली परिचालन गर्छौं। केही सफलता पनि हात परेको छ,’ अर्यालले भने।



