इटहरी | पूर्वी तराईका झापा, मोरङ र सुनसरीका स्थानीय बासिन्दा अहिले तापक्रमसँग होइन, ‘तयारीविहीन सरकार’सँग लड्न बाध्य छन्। लगातार तीन दिनदेखि तापक्रम ३७ डिग्री नाघ्दा यहाँको जनजीवन अस्तव्यस्त बनेको छ। तर स्थानीय तह र सरकारी निकायको तर्फबाट न त कुनै पूर्वतयारी देखिएको छ, न त तत्काल राहत उपायहरू अपनाइएको छ।
स्वास्थ्य जोखिम बढ्दो छ। बालबालिका, ज्येष्ठ नागरिक, महिलाहरू घरमै थुनिएका छन् भने दैनिक ज्यालादारी मजदूरहरू गर्मीको चपेटामा परेर अस्पताल पुग्न थालेका छन्। तर यस्ता अवस्थाका लागि स्थानीय स्वास्थ्य केन्द्रमा न शीतल पानीको व्यवस्था छ, न त आपतकालीन स्वास्थ्य सहायता सेवा नै।
विद्यालयहरू बन्द गरिएका छन्, तर वैकल्पिक शिक्षा सञ्चालनको कुनै योजना छैन। इनरुवा, इटहरी, विराटनगर, कमल गाउँपालिका जस्ता पालिकाहरूले विद्यालय बन्द गर्न त सूचनामार्फत निर्देशन दिएका छन्, तर विद्यार्थीको सिकाइ अधिकारलाई सुरक्षित गर्ने प्रयास कतै देखिँदैन।
स्थानीय स्तरमै जलवायु परिवर्तनको असर देखिँदा पनि योजना, चेतना र आपतकालीन पूर्वतयारी शून्यप्रायः छ। मौसम पूर्वानुमान विभागले पूर्वतयारीको सूचना दिए पनि अधिकांश पालिकाले तत्कालीक राहत, पानी बितरण, छायाँयुक्त सार्वजनिक क्षेत्र निर्माण जस्ता आधारभूत काम नगरेको देखिन्छ।



