हेटौँडा । नेपाल प्रेस युनियन मकवानपुरले पत्रकारको पेशागत कार्यमा गरिएको अवरोधप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। शुक्रबार हेटौंडास्थित जिल्ला प्रशासन कार्यालय मकवानपुरमा समाचार संकलनका लागि पुगेका पत्रकारहरुलाई प्रवेश गर्न रोकिएको र दृश्य खिच्न नदिइएको घटना प्रति प्रेस युनियन मकवानपुरले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको विरुद्ध भएको ठहर गर्दै विरोध जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरमा हेटौँडाका जनप्रतिनिधिमाथि भएको घटनासँग सम्बन्धित नेपाली कांग्रेसको ध्यानाकर्षण र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ज्ञापनपत्र बुझाउने कार्यक्रमको समाचार संकलनका लागि पुगेका नेपाल पत्रकार महासंघ मकवानपुरकी उपाध्यक्ष भावना रिजाल (नेपाल टेलिभिजन), सदस्य गणेश दुलाल (रातोपाटी डटकम), मनिल महत्तो (टिम टिभी) लगायतका पत्रकारहरु पुगेका थिए । प्रशान कार्यलयमा उनीरुहरुलाई प्रवेश गर्न र फोटो तथा भिडियो संकलनमा रोक लगाइएको थियो ।
यस घटनालाई लिएर नेपाल प्रेस युनियन मकवानपुरले विज्ञप्ति जारी गर्दै तीव्र भत्र्सना गरेको हो । युनियनले सार्वजनिक पदमा बसेका पदाधिकारीहरुले नागरिकका सरोकारका विषयमा जानकारी दिनुपर्ने दायित्व पूरा गर्नुको सट्टा पत्रकारहरुलाई पेशागत कार्य गर्न रोक लगाउनु संविधान र सञ्चार ऐन विपरीत भएको जनाएको छ
प्रेस युनियनले संविधानमै सञ्चारकर्मीलाई अभिव्यक्ति स्वतन्त्रता, सूचना प्राप्तिको अधिकार तथा निष्पक्ष प्रेसको प्रत्याभूति सुनिश्चित गरिएको स्मरण गराएको छ। साथै, सञ्चारकर्मी सुरक्षा नीति, २०७३ र फौजदारी संहिता, २०७४ का प्रावधानअनुसार पेशागत कार्यमा अवरोध पु¥याउने कार्य दण्डनीय अपराध मानिएको पनि विज्ञप्तिमा उल्लेख छ।
युनियनका अध्यक्ष सुवास बिहारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा प्रमुख जिल्ला अधिकारीसमक्ष पत्रकारहरुको सुरक्षा र मर्यादा सुनिश्चित गर्दै प्रेस स्वतन्त्रताको पक्षमा दृढतापूर्वक उभिन आग्रह गरिएको छ।