काठमाडौं | शुक्रबार देशभर आंशिकदेखि साधारणतया बदली रहने मौसम पूर्वानुमान गरिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भूभागका केही स्थान र बाँकी भूभागका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।
कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षा हुने चेतावनी दिइएको छ।
त्यस्तै, देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ।
महाशाखाले कोशी र मधेश प्रदेशका तराई क्षेत्रका केही स्थानहरूमा हावाहुरीको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।