हेटौँडा | जिल्ला प्रशासन कार्यालयमा समाचार संकलनका लागि पुगेका सञ्चारकर्मीलाई फोटो खिच्न र छायांकनमा रोक लगाइएकोप्रति प्रेस चौतारी नेपाल, मकवानपुरले आपत्ति जनाएको छ।
शुक्रबार प्रमुख जिल्ला अधिकारी (सीडीओ) स्किम श्रेष्ठलाई राजनीतिक दलहरूले बुझाउने ज्ञापनपत्र कार्यक्रमको समाचार संकलनमा खटिएका सहसचिव मनिल महतो, पत्रकार महासंघ मकवानपुरकी उपाध्यक्ष भावना रिजाल र सदस्य गणेश दुलाललगायत सञ्चारकर्मीहरूलाई कार्यालयभित्र प्रवेशमा रोक लगाउँदै दृश्य खिच्न दिईएको थिएन् ।
प्रेस चौतारीले सार्वजनिक स्थलमा सञ्चारमाध्यमको उपस्थिति स्वाभाविक हुने भन्दै प्रेसमाथि भएको हस्तक्षेप लोकतान्त्रिक मूल्य र नागरिकको सूचना प्राप्तिको अधिकारविपरीत भएको बताएको छ। संविधान २०७२ को प्रस्तावना र धारा १७, २७ र ३५ अनुसार प्रेस स्वतन्त्रताको सुनिश्चितता गरिएकाले यस्ता अवरोध तत्काल अन्त्य गर्न संगठनले आग्रह गरेको छ।
सचिव नवीन तिमल्सिनाले जारी गरेको विज्ञप्तिमा प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठलाई यस्ता प्रेसविरोधी कार्य नगर्न चेतावनी दिँदै आगामी दिनमा यस्ता घटनाको पुनरावृत्ति नहोस् भनी सबै सरोकारवालालाई अपिल गरिएको छ।