हेटौँडा | जिल्ला प्रशासन कार्यालय मकवानपुरमा समाचार संकलनका लागि पुगेका सञ्चारकर्मीलाई कार्यालय प्रवेशमा रोक लगाइएको र दृश्य खिच्न निषेध गरिएको घटनाप्रति स्वतन्त्र पत्रकार संघ मकवानपुरले आपत्ति जनाएको छ। असार ६ गते शुक्रबार प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठलाई विभिन्न राजनीतिक दलहरूले बुझाउने ज्ञापनपत्र कार्यक्रमको समाचार संकलनमा खटिएका पत्रकारहरूलाई कार्यालयमै प्रवेश नदिइएको र प्रवेश गरेकालाई क्यामेरा प्रयोग गर्न नदिइएको स्पष्ट भएपछि पत्रकार संघले एक विज्ञप्ति जारी गर्दै यसलाई प्रेस स्वतन्त्रतामाथि प्रत्यक्ष हस्तक्षेप भएको ठहर गरेको हो।
स्वतन्त्र पत्रकार संघ मकवानपुरका अध्यक्ष राजन घिमिरे (अनुराग) र सचिव बसन्त भण्डारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “नियमित समाचार संकलनमा खटिएका सञ्चारकर्मीलाई प्रशासनिक संयन्त्रबाट अवरोध गर्नु प्रेस स्वतन्त्रता, नागरिकको सूचनाको हक र पत्रकारको पेशागत सुरक्षामाथि प्रत्यक्ष प्रहार हो। यस्तो कार्य न त विधिको शासनसँग मेल खान्छ, न त उत्तरदायित्वपूर्ण व्यवहार मानिन्छ।”
संविधानको धारा १७(२)(क) मा प्रत्येक नागरिकलाई अभिव्यक्ति स्वतन्त्रताको अधिकार सुनिश्चित गरिएको छ, धारा २७ मा सूचना प्राप्तिको हक प्रत्याभूत गरिएको छ, र धारा ३५(४) मा स्वतन्त्र, निष्पक्ष तथा उत्तरदायी प्रेसको अधिकार उल्लेख गरिएको छ। पत्रकार संघले संविधानका यी प्रावधानको उल्लङ्घन मात्र होइन, सञ्चारकर्मी सुरक्षा नीति, २०७३ र फौजदारी संहिता, २०७४ अन्तर्गत सञ्चारकर्मीको कर्तव्य निर्वाहमा अवरोध पुर्याउनु दण्डनीय अपराध भएको पनि उल्लेख गरेको छ।
“सञ्चारकर्मीको कार्यमा हस्तक्षेप गर्नु अन्तर्राष्ट्रिय मानव अधिकार मापदण्डको समेत उल्लङ्घन हो। यस्तो कार्य लोकतान्त्रिक मूल्य, मान्यता र संविधानले प्रत्याभूत गरेको पत्रकारिताको स्वतन्त्र अभ्यासविपरीत हो,” विज्ञप्तिमा भनिएको छ।
प्रेस लोकतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्दै संघले पत्रकारमाथिको अवरोधको घटना गम्भीर रूपमा लिन सम्बद्ध सरकारी निकाय र सरोकारवालालाई आग्रह गरेको छ। यस्ता कार्यले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई खतरामा पार्ने भएकाले यस्ता क्रियाकलाप तत्काल रोक्न र दोहोरिन नदिन प्रभावकारी कदम चाल्न माग गरिएको छ। संघले प्रेस स्वतन्त्रता सुरक्षित नरहेसम्म लोकतन्त्रको सार्थक अभ्यास हुन नसक्ने स्पष्ट पारेको छ।