हेटौँडा | नेपाल स्केटिङ तथा स्केटबोडिङ संघ मकवानपुरको पहिलो सम्मेलनले कुमारी लामा तितुङलाई सर्वसम्मत अध्यक्ष चयन गरेको छ।
हेटौँडामा सम्पन्न सम्मेलनमा काठमाडौं जिल्ला खेलकुद समिति कर्मचारी संघका अध्यक्ष र कराँते प्रशिक्षक राधिका यर हिमाल प्रमुख अतिथि थिए। कार्यक्रममा स्केटिङ तथा स्केटबोडिङ संघका केन्द्रीय महासचिव सत्य थापा, प्रदेश अध्यक्ष विकास लामा, सचिव श्रवण कुमार बर्तौला, विजय राज कर्जित लगायतको उपस्थिति थियो।
११ सदस्यीय नयाँ कार्यसमितिको उपाध्यक्षमा विशाल चौलागाईं र जय बहादुर थोकर छन्। सचिवमा राहुल डिम्डुङ, कोषाध्यक्षमा लक्ष्मी गोले छन्। सदस्यहरूमा बबिन लामा, लवराज अधिकारी, सागर राई, मित्र प्रसाद गौतम, किरण घिसिङ र मनिष खड्का रहेका छन्।
कार्यक्रममा सचिव राहुल डिम्डुङले थप सदस्य मनोनयन गरेर समिति विस्तार गरिने जानकारी दिए। मकवानपुरमा स्केटिङ र स्केटबोडिङको विकास र औपचारिक संरचना तयार गर्ने उद्देश्यसहित सम्मेलन गरिएको हो।



