हेटौँडा | करिब ५४५ जनाको जनशक्ति रहेको हेटौँडा अस्पतालमा केही वार्डहरू डाक्टरको उपस्थितिमा मात्र सञ्चालन हुने गुनासो बढ्दो छ। सोमबार आयुर्वेदिक वार्डमा सेवा लिन आएका बिरामीहरू ढोकामा ताल्चा लगाइएको देखेर फर्किन बाध्य भए।
“हामी टाढाबाट सेवा लिन आयौं, यहाँ त ताला लगाइएको रहेछ,” बकैया गाउँपालिका निवासी अप्सरा घिमिरेले असन्तोष व्यक्त गरिन्। नवलपुरका तिर्थ आचार्यले भने, “डाक्टर आउँदा मात्रै खुल्ने, नआउँदा त वॉर्ड नै बन्द हुने यस्तो दु:खद अवस्थाले कसरी सेवा लिने?”
हेटौँडा–४ हुप्राका राजु तिवारीले पनि आलोचना गर्दै भने, “सेवा नै दिन सक्दैन भने किन राखेको? कहिले खुल्ने, कहिले नखुल्ने हुँदा धेरै गाह्रो भएको छ। नियमित खुल्ने वा सधैँ बन्द हुने भन्ने स्पष्ट हुनुपर्छ।”
अस्पताल प्रशासनका अनुसार हाल आयुर्वेदिक शाखामा केवल डा. राम अर्याल कार्यरत छन्। उनी बिदामा रहँदा सेवा बन्द हुने गरेको हो। जनशक्ति अभावकै कारण सेवा नियमित दिन नसकिएको प्रशासनको भनाइ छ।
मेडिकल रेकर्डका अनुसार पछिल्लो तीन महिनामा आयुर्वेद विभागमा उल्लेखनीय संख्यामा बिरामीले सेवा लिएका छन् । बैशाखमा ६८९, जेठमा ८७९ र असारमा ७०९ जना। तर, सेवा प्रवाहमा आएको अवरोधका कारण सेवाग्राही असन्तुष्ट बनेका छन्।



