मुख्यमन्त्रीबाट अष्टलक्ष्मी शाक्यले राजीनामा दिएपछि बागमती प्रदेशमा राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्ने बाटो खुलेको छ । बागमती प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाक्यले ‘मार्ग प्रशस्त’ गर्ने बताएकी थिइन् ।
उनले संविधानको धारा १६९ को उपधारा १ (क) मा भएको व्यवस्थाअनुसार आफूले ‘मार्ग प्रशस्त’ गर्ने उनले प्रदेश सभा बैठकलाई जानकारी दिइन् ।भदौ २ मा मुख्यमन्त्री बनेकी शाक्यको बागमती प्रदेश सरकारको नेतृत्वमा ७१ दिनको कार्यकाल रह्यो ।शाक्य पहिलो महिला मुख्यमन्त्री बन्ने बाहेक बागमती प्रदेशमा उनको नेतृत्वमा उल्लेखनीय काम हुन पाएन ।
बागमती प्रदेशलाई महिलामैत्री प्रदेश बनाउने भनेर शाक्यले मंगलवार बागमती प्रदेशका सबै मन्त्रालयमा वडापत्र राख्न लगाएकी थिइन् ।एमालेमा अन्तरसंघर्ष चलिरहेको बेला माधव नेपाल पक्षमा रहेकी शाक्य एमाले विभाजनको संघारमा एमालेको संस्थापन पक्षसँग सम्झौता गरेर बागमती प्रदेशको मुख्यमन्त्री बनेकी थिइन् ।
भदौ २ बाट प्रक्रिया शुरू गरेर भदौ ९ मा माधव नेपाल पक्षले नयाँ दल दर्ताको प्रमाणपत्र लिएपछि शाक्य अल्पमतमा पुगिन् । अन्ततः उनले प्रदेश सभामार्फत मार्ग प्रशस्त गर्ने घोषणा गरिन् । बागमती प्रदेशमा अब नेकपा एकीकृत समाजवादी पार्टीका संसदीय दलका नेता राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्नेछन् । कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको गठबन्धनले पाण्डेलाई मुख्यमन्त्रीमा प्रस्ताव गरेको छ ।
बागमती प्रदेशमा पाण्डेको पक्षमा गठबन्धनको ५९ मत छ । मुख्यमन्त्री बन्नको लागि ५५ मत भए पुग्छ ।पाण्डे मुख्यमन्त्री बनेसँगै एकीकृत समाजवादीले प्रदेश सरकारको नेतृत्व गरेको यो पहिलो अवसर हुनेछ । बागमती प्रदेश प्रमुख पनि एकीकृत समाजवादीकै यादवचन्द्र शर्मा नियुक्त भएका छन् ।
अष्टलक्ष्मी शाक्यले प्रदेश प्रमुख समक्ष राजीनामा बुझाएपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनको लागि आह्वान गर्नेछन् । त्यसपछि गठबन्धनको समर्थनसहित पाण्डेले मुख्यमन्त्रीमा दाबी गरेपछि उनी प्रदेश प्रमुखबाट मुख्यमन्त्रीमा नियुक्त हुनेछन् । शुरूमा पाण्डे मुख्यमन्त्री बन्ने र कांग्रेससँग आधाआधा कार्यकाल सरकारको नेतृत्व बाँड्ने सहमति यसअघि नै भइसकेको छ ।



