देशबागमती प्रदेश१४ वर्षीया किशोरी बनिन् बागमती प्रदेशकी मन्त्री

१४ वर्षीया किशोरी बनिन् बागमती प्रदेशकी मन्त्री

हेटौँडा | सिन्धुली जिल्लाको तीनपाटन गाउँपालिका–२, भिमास्थानकी १४ वर्षीया जेनिशा क्याप्छाकी मगरले सोमबारको बिहान अरू दिनभन्दा निकै फरक अनुभव गरिन्। कक्षा–९ मा अध्ययनरत् यो किशोरीले सामान्य विद्यार्थीको भूमिकाबाट सिधै बागमती प्रदेश सरकारको उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको मन्त्रीको कुर्सी सम्हालिन्।

यो सबै सम्भव भयो ह्याण्ड्स नेपाल र प्लान इन्टरनेसनल नेपाल द्वारा सञ्चालित गल्र्स स्ट्याण्डिङ स्ट्रोङ परियोजनाको पहलबाट। हेटौँडास्थित मन्त्रालयमा आयोजित यो विशेष कार्यक्रममा किशोरी जेनिशाले मन्त्रीको पदभार ग्रहण गर्दै देशको आर्थिक समृद्धिका लागि वातावरण अनुकूल उद्योग सञ्चालन गर्ने आफ्नो योजनाबारे बताएर सबैलाई प्रभावित बनाइन्।

जेनिशाले मन्त्रीको भूमिका निभाउँदै विदेशमा रोजगारीका लागि गएका युवालाई देशमै फर्काउन उपयुक्त वातावरण निर्माण गर्नुपर्ने आफ्नो दृष्टिकोण व्यक्त गरिन्। विद्यालय तहमा सीपमूलक शिक्षा अनिवार्य गराउनुपर्ने उनको तर्कले नीति निर्माताहरूलाई सोच्न बाध्य बनायो।

“व्यवहारिक ज्ञान र सीप शिक्षाको माध्यमबाट बेरोजगारीको समस्या हल गर्न सकिन्छ,” उनले आत्मविश्वासपूर्वक भनिन्।

मन्त्रीको कुर्सीमा बसेकी जेनिशालाई सिन्धुलीको सुनकोसी गाउँपालिकाकी छात्रा दुर्गा श्रेष्ठले किशोरीहरूको अधिकार र स्वास्थ्य सुरक्षासम्बन्धी मागपत्र बुझाइन्। मागपत्रमा प्रजनन् स्वास्थ्य, संकट व्यवस्थापन, गुणस्तरीय शिक्षा, छात्रवृत्ति, र सुरक्षित विद्यालय वातावरणजस्ता मुद्दाहरू समेटिएका थिए।

कार्यक्रममा बागमती प्रदेश सरकारकी वास्तविक मन्त्री सुकमाया तामाङले आफ्नो संघर्षपूर्ण जीवनको सम्झना गरिन्। “निरन्तर प्रयासले मात्र सफलता सम्भव छ,” उनले भने। किसान परिवारबाट मन्त्रीसम्मको यात्रामा उनले भोगेका चुनौती र अठोटका अनुभव जेनिशालगायत उपस्थित किशोरीहरूलाई प्रेरणा बने।

कार्यक्रमको दौरान जेनिशासहित किशोरीहरूले मन्त्रालयका विभिन्न विभागहरूको भ्रमण गरे। उनीहरूले महसुस गरे— शासन व्यवस्थाको केन्द्रमा बसेर निर्णय लिनु कत्तिको जिम्मेवारीपूर्ण कार्य हो।

यो अनुभव जेनिशाका लागि मात्र होइन, देशभरका किशोरीहरूका लागि पनि प्रेरणादायी कथा बन्यो। यो कार्यक्रममा उठेका आवाजले किशोरीहरूको सशक्तीकरण र अधिकारका लागि समाजलाई सोच्न बाध्य पार्नेछ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img