हेटौँडा | सेवा, सहयोग र आवाजमा हामी नामक संस्थाले हेटौँडा उपमहानगरपालिका क्षेत्रमा पछिल्लो समय बढ्दो ध्वनी प्रदूषणका विषयमा गम्भीर चासो व्यक्त गर्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरलाई ध्यानाकर्षण गराएको छ। संस्थाले मंगलबार पत्र बुझाउदै विशेषगरी मोटरसाइकलमा साइलेन्सर परिवर्तन गरिने र प्वाल पारिने कार्यका कारण अनावश्यक उच्च ध्वनि निकाल्दै समाजमा नकारात्मक प्रभाव परिरहेको र यसले जनस्वास्थ्य, पर्यावरण, वन्यजन्तु, र सामाजिक शान्तिमा दीर्घकालीन असर पुर्याउने उल्लेख गरिएको छ।
संस्थाले ध्वनी प्रदूषणले मानिसको स्वास्थ्यमा पार्ने प्रभावमाथि गहिरो चिन्ता प्रकट गर्दै यसले श्रवण शक्ति कमजोर बनाउने, तनाव र मानसिक समस्या सिर्जना गर्ने, रक्तचाप वृद्धि गर्ने, र निन्द्रामा अवरोध पुर्याउने जानकारी दिएको छ। विशेष गरी बालबालिकामा यसको असर अझ गम्भीर देखिन सक्ने र उनीहरूको मानसिक र शारीरिक विकासमा बाधा पुग्न सक्ने चेतावनी दिइएको छ। यसले उनीहरूको सिकाइ प्रक्रियामा समेत नकारात्मक प्रभाव पार्ने सम्भावना रहेको संस्थाको भनाइ छ।
ध्वनी प्रदूषणले केवल मानिसमात्र होइन, पर्यावरण र वन्यजन्तुमा समेत हानिकारक प्रभाव पार्ने भन्दै संस्थाले यसको प्रभावलाई तत्काल रोक्न कानुनी प्रावधानलाई कार्यान्वयन गर्न जोड दिएको छ। उच्च ध्वनिका कारण पशुपक्षीको संचार प्रणालीमा अवरोध उत्पन्न हुने, पारिस्थितिक सन्तुलन बिग्रने, र जीवजन्तुमा डर तथा अस्थिरता सिर्जना हुने जोखिमबारे संस्था सचेत रहेको छ।
संस्थाले ध्वनी प्रदूषणको नियन्त्रणका लागि नेपालका कानुन र निर्देशिकाको अनुसरण गर्दै सम्बन्धित निकायले प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकतामा जोड दिएको छ। संस्थाले पर्यावरण संरक्षण ऐन, २०७६, सार्वजनिक अपराध (सजाय) ऐन, २०२७, यातायात व्यवस्थापन ऐन, २०४९, र ध्वनी प्रदूषण मापदण्ड, २०६९ का प्रावधानहरूलाई व्यवहारिक रूपमा लागू गर्न माग गरेको छ।
‘सेवा, सहयोग र आवाजमा हामी’ले यस समस्याको दीर्घकालीन समाधानका लागि ध्वनी प्रदूषण गरिरहेका सवारी साधनमाथि कडा कारबाही गर्न, साइलेन्सर परिवर्तन गर्ने कार्यलाई रोक्न, र नगरलाई सुरक्षित, शान्त, र स्वस्थ बनाउन प्रभावकारी योजना निर्माण गर्न आग्रह गरेको छ। संस्थाका अध्यक्ष बिशाल राज महतले भनेका छन्, “ध्वनी प्रदूषणले समाज र वातावरणमा गहिरो प्रभाव पारिरहेको छ। यसलाई नियन्त्रण गर्न हामीले प्रशासनसँग तत्काल पहल गर्न अनुरोध गरेका छौँ।”
संस्थाका अध्यक्ष बिशाल राज महत, उपाध्यक्ष राम बिक्रम थापा, सचिव राजेश थापा गरिब, कोषाध्यक्ष मन्जिता मैनाली लगायतका टोलीले प्रशासनसँग स्वास्थ्यमा असर, तनाव, मानसिक समस्याहरू, र बालबालिकामा शारीरिक र मानसिक विकासमा अवरोधका बारेमा गम्भीर चासो व्यक्त गरेका हुन् ।