हेटौँडा | बैशाख १९ गतेदेखि हेटौँडाको गौरीटार रंगशालामा महिला गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ। मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हुने प्रतियोगितामा आठ टिमले प्रतिस्पर्धा गर्नेछन्।
संघले विगत ६ वर्षदेखि गर्दै आएको ‘सहीद स्मृति मकवानपुर राष्ट्रिय गोल्डकप’ प्रतियोगितालाई यसपटक महिला फुटबलमा रूपान्तरण गरिएको हो। संघका महासचिव छवी सुवेदीका अनुसार पछिल्लो समय महिला फुटबलप्रति चासो बढ्दै गएकाले महिला खेलाडीलाई प्रोत्साहन गर्न प्रतियोगिता महिला संस्करणमा गरिने निर्णय गरिएको हो।
प्रतियोगितामा नेपाल आर्मी, नेपाल पुलिस र एपीएफ जस्ता तीन विभागीय टिमसहित मकवानपुर, चितवन, सर्लाही, रौतहट र बाराका क्लबले सहभागिता जनाउनेछन्।
विजेता टोलीले ५ लाख रुपैयाँ नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ३ लाख नगदसहित ट्रफी र प्रमाणपत्र पाउनेछ। प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई स्कुटर पुरस्कार दिइनेछ।
प्रतियोगिता सञ्चालनका लागि करिब ६१ लाख रुपैयाँ खर्च लाग्ने आयोजकको अनुमान छ। प्रतियोगितामा आर्थिक सहयोग गर्न प्रदेश खेलकुद विकास परिषद्ले २० लाख र हेटौंडा उपमहानगरपालिकाले २५ लाख रुपैयाँ उपलब्ध गराउनेछ। यस्तै, मकवानपुरका १० वटा स्थानीय तह र अन्य संघसंस्थाहरू पनि प्रतियोगिताका प्रायोजकका रूपमा रहनेछन्।
मकवानपुर गोल्डकपको हिसाबकिताब: ढिलासुस्ती मात्रै होईन गडबडी पनि !



