मकवानपुर । पत्रकारमाथि भइरहेको धरपकड, गिरफ्तारी र प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेपविरुद्ध नेपाल पत्रकार महासंघले देशव्यापी विरोध प्रदर्शन गरेको छ। महासंघले हिजो देशभरका जिल्ला प्रशासन कार्यालयअगाडि धर्ना तथा प्रदर्शन गरेको हो।
प्रदर्शनमा समाचार लेखेकै आधारमा पत्रकार पक्राउ गर्ने, सञ्चारमाध्यमको न्यूजरुममै प्रवेश गरेर हस्तक्षेप गर्ने र समाचार स्रोत खुलाउन दबाब दिने कार्य रोक्न माग गरिएको छ। सहभागीहरूले ‘पत्रकारलाई सामूहिक गिरफ्तार गर’ भन्ने नारा लगाएका थिए।
महासंघले प्रेस काउन्सिल ऐन संशोधनसम्बन्धी अध्यादेश फिर्ता लिई सरोकारवालासँग छलफल गरेर संसद्बाटै कानुन बनाउन सरकारसँग माग गरेको छ। यस्तै, लोककल्याणकारी विज्ञापन कटौती फिर्ता लिन, सञ्चारमाध्यममाथिको आर्थिक दबाब हटाउन र पत्रकारको श्रम अधिकार सुनिश्चित गर्न पनि माग गरिएको छ।
नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले पत्रकारमाथिको धरपकड र प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप रोक्न तथा दोषीलाई कारबाही गर्न माग गरिन्।
माग तत्काल सम्बोधन नगरिए थप सशक्त आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी महासंघले दिएको छ।



