काठमाडाैँ। मलेसिया जाने नेपाली श्रमिकबाट गैरकानुनी रूपमा रकम असुली गरी विदेश पठाएको आरोपमा पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धानका क्रममा जिल्ला अदालत काठमाडौँबाट पक्राउ पुर्जी जारी भएका अर्याललाई प्रहरीले नियन्त्रणमा लिएको हो।
प्रहरी उच्च स्रोतले अर्याल पक्राउ परेको पुष्टि गरे पनि उनलाई कहाँबाट नियन्त्रणमा लिइएको हो भन्नेबारे आधिकारिक विवरण सार्वजनिक गरेको छैन। यद्यपि, गृह मन्त्रालय स्रोतका अनुसार अर्याललाई भारतको कोलकाताबाट पक्राउ गरी नेपाल ल्याइँदै छ।
अर्याल मुख्यसचिव बन्नुअघि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सचिवका रूपमा कार्यरत थिए। सोही कार्यकालमा मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षणका नाममा अतिरिक्त शुल्क असुली गर्ने प्रणालीलाई निरन्तरता दिन र संकलित रकम गैरकानुनी रूपमा विदेश पठाउने निर्णय प्रक्रियामा संलग्न रहेको आरोपमा उनीमाथि अनुसन्धान अघि बढाइएको हो।
अर्याल २०८१ भदौमा मुख्यसचिवमा नियुक्त भएका थिए। त्यसअघि उनले गृहसचिवको जिम्मेवारी सम्हालेका थिए भने करिब १५ महिना मुख्यसचिवका रूपमा काम गरेपछि २०८२ मंसिरमा उमेर हदका कारण अनिवार्य अवकाश पाएका थिए।
करिब सात लाख नेपाली श्रमिकसँग जोडिएको यस प्रकरणमा ठगी तथा संगठित अपराध कसुरमा अनुसन्धान भइरहेको छ। यसअघि यही प्रकरणमा तत्कालीन श्रममन्त्रीद्वय रामेश्वर राय यादव र शेरबहादुर कुँवर तथा तत्कालीन श्रम सचिव विनोद केसीसहित १० जना पक्राउ परिसकेका छन्।



