काठमाडौँ । दुईदिने राजकीय भारत भ्रमण सकेर फर्किएका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भेट्न बूढानीलकण्ठस्थित उनको निवास पुगे । करिब पाँच घण्टा चलेको भेटमा भारत भ्रमणका उपलब्धिदेखि आगामी निर्वाचनको तयारी, सरकारले ल्याउन लागेको अध्यादेश र संसद् अधिवेशनसम्मका विषयमा छलफल भयो ।
लामिछानेका स्वकीय सचिव अविनास आचार्यका अनुसार भेटमा प्रधानमन्त्री शाहले आफ्नो भारत भ्रमण र सरकारका कामबारे जानकारी गराएका थिए । मन्त्री तथा मन्त्रालयको कार्यसम्पादन, आगामी संसद् बैठक बोलाउने विषय र विधेयकबारे पनि दुई नेताबीच कुराकानी भएको थियो ।
आगामी निर्वाचनको तयारी र रास्वपाले सुरु गर्न लागेको प्रशिक्षण अभियान पनि छलफलमा उठेका थिए । भेटबारे सार्वजनिक विवरणमा निर्वाचनको तह र मिति, छलफल भएको अध्यादेशको विषय तथा संसद् अधिवेशन बोलाउने समय खुलाइएको छैन ।
भ्रमणअघि पनि भएको थियो भेट
शाह र लामिछानेबीच भारत भ्रमणअघि पनि भेट भएको थियो । कान्तिपुरका अनुसार गत शुक्रबार दुई नेताले करिब तीन घण्टा छलफल गरेका थिए । त्यसबेला आसन्न भारत भ्रमणबारे कुराकानी भएको थियो । यसपटक शाहले भ्रमणबाट प्राप्त उपलब्धिबारे लामिछानेलाई जानकारी गराएका हुन् ।
शाहले मंसिर ६ र ७ गते भारतको राजकीय भ्रमण गरेका थिए । भ्रमणपछि जारी संयुक्त विज्ञप्तिअनुसार हाल एकतर्फी रहेको काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी बनाउने सहमति भएको छ । प्रस्तावित रक्सौल–काठमाडौँ रेलमार्गको स्थलगत सर्वेक्षण सकिएको घोषणा गरिएको छ । पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन छिटो टुंग्याउन पनि दुवै देशका प्रधानमन्त्रीले सम्बन्धित निकायलाई निर्देशन दिएका थिए ।



