इन्फो नेपाल — सञ्चारको सञ्जाल

उद्योग दिवसमा बागमतीका १४ उद्यमीलाई ११ लाख ७५ हजार रुपैयाँ पुरस्कार

अन्नपूर्ण खाद्य उद्योग प्रदेश सर्वोत्कृष्ट, मकवानपुरबाट इन्दिरा धिताल र धादिङबाट गोमा सिंखडा सम्मानित ।

बागमती प्रदेशका १४ उद्यमीले कुल ११ लाख ७५ हजार रुपैयाँसहित नवप्रवर्तन उद्यमी सम्मान पाएका छन् । बुधबार हेटौँडामा आयोजित १२औँ उद्योग दिवस तथा नवप्रवर्तन उद्यमी सम्मान कार्यक्रममा प्रदेश सर्वोत्कृष्ट उद्यमीलाई दुई लाख रुपैयाँ र १३ वटै जिल्लाका उत्कृष्ट उद्यमीलाई जनही ७५ हजार रुपैयाँ प्रदान गरिएको हो ।

ललितपुर महानगरपालिका–१७ स्थित अन्नपूर्ण खाद्य उद्योग प्रदेश सर्वोत्कृष्ट घोषित भयो । उद्योगकी सञ्चालक अन्नपूर्णकुमारी थापाले दुई लाख रुपैयाँसहित सम्मान पाइन् । मकवानपुरबाट हेटौँडा उपमहानगरपालिका–८ स्थित शर्मा एकीकृत कृषि तथा पशुपन्छी फार्म उत्कृष्ट घोषित भयो । फार्मकी सञ्चालक इन्दिरा धितालले ७५ हजार रुपैयाँसहित सम्मान पाइन् । उनले उद्योग दिवसको प्रदर्शनीमा आफ्नै फार्ममा फलाएको ड्रागन फ्रुट राखेकी थिइन् ।

धादिङबाट उत्कृष्ट उद्यमीको सम्मान पाएकी सिद्धलेक गाउँपालिका–१ बलमडाँडाकी गोमा सिंखडाले २०७४ भदौ १४ गते २५ हजार रुपैयाँको लगानीमा मौरीपालन सुरु गरेकी थिइन् । अहिले उनको उद्योगमा २५० घार छन् । परिवारका सदस्य र कर्मचारी गरी पाँच जनाले उद्योगमा काम गर्छन् ।

घार थपिँदै गएपछि उद्योगको काम एक जनाले सम्हाल्न कठिन भयो । गोमालाई सघाउन उनका श्रीमान् पूर्णप्रसाद सिंखडाले गत वैशाखमा उच्च माध्यमिक तहको करार शिक्षण छाडे । “एक जनाले मात्रै भ्याउन गाह्रो भो,” उनले भने । अर्थशास्त्रमा एमफिल गरेका पूर्णप्रसाद अहिले उद्योगको व्यवस्थापनमा पूर्णकालीन रूपमा खटिएका छन् । उनका अनुसार मौरी र घारसहित उद्योगमा हालसम्म करिब ६० लाख रुपैयाँ खर्च भएको छ ।

फूलको स्रोत हेरेर तीन ठाउँमा घार राखिएका छन् । दुई ठाउँको जग्गा आफ्नै हो भने एक ठाउँमा भाडामा लिइएको छ । गत वर्ष स्थानीय सेरेना मौरीलाई चराउन चितवनसम्म लगेका पूर्णप्रसादले वनका फूल पाइने ठाउँमा ती मौरीका लागि राम्रो चरन पाएको अनुभव सुनाए ।

उद्योगमा कात्तिक–मंसिरमा कटुसको र जेठमा चिउरीको मह काढिन्छ । मौरीको गोला बलियो र फूलको स्रोत पर्याप्त हुँदा कात्तिक–मंसिरमै ३०० देखि ४०० किलोसम्म मह निकाल्ने गरेको पूर्णप्रसादले बताए । उनका अनुसार वार्षिक उत्पादन ५०० देखि ७०० किलोसम्म हुन्छ । कटुसको मह प्रतिकिलो दुई हजारदेखि दुई हजार पाँच सय रुपैयाँसम्ममा बिक्री हुन्छ ।

“घरबाटै बिक्छ, हामी कहीँ जानै परेको छैन,” पूर्णप्रसादले भने । अधिकांश ग्राहक धादिङकै हुन् । काठमाडौँबाट माग आउँदा कहिलेकाहीँ गाडीमा पठाउने गरेका छन् । गाउँमै माग धेरै भएकाले काठमाडौँमा नियमित रूपमा पठाउन नसकेको उनले बताए ।

उद्योगले महसँगै घारसहित मौरीका गोला बिक्री गर्छ । गोलाको अवस्था, मौसम र घार बनाउन प्रयोग गरिएको काठअनुसार मूल्य आठ हजारदेखि ११ हजार रुपैयाँसम्म पर्छ । किसानले सीधै खरिद गर्छन् भने सरकारी कार्यालयले पनि अनुदान कार्यक्रममा किसानलाई वितरण गर्न घारसहितका गोला किन्ने गरेका छन् । मह र मौरीका गोला दुवैको बिक्री राम्रो भएको वर्ष १० लाखदेखि १५ लाख रुपैयाँसम्म कमाइ हुने पूर्णप्रसादले बताए ।

जिल्लागत उत्कृष्ट उद्यमीका रूपमा धिताल र सिंखडासँगै ललितपुरकी लक्ष्मी थापा मगर, रामेछापका विश्वराम घिमिरे, सिन्धुपाल्चोककी शारदा घले, सिन्धुलीका शान्त बहादुर सिञ्जाली मगर, काठमाडौँका सौगात थापा र नुवाकोटका उर्जि तामाङ सम्मानित भए । चितवनकी सरिता खनाल, काभ्रेपलाञ्चोकका वीर बहादुर लामा, भक्तपुरका कृष्णगोपाल गारु, दोलखाका कमल थामी र रसुवाका चूडामणि पौडेलले पनि जिल्लागत उत्कृष्ट उद्यमीको पुरस्कार पाए ।

कार्यक्रममा बागमतीका मुख्यमन्त्री किरण थापा मगरले सम्मानित उद्यमीहरूको काम आफ्नै ठाउँमा व्यवसाय सुरु गर्न चाहने युवाका लागि प्रेरणा बन्ने बताए । “एउटा सफल उद्यमले धेरैलाई रोजगारी दिन सक्छ,” उनले भने । यस वर्षको उद्योग दिवस ‘औद्योगिक वातावरण सुधार : दिगो अर्थतन्त्रको आधार’ नाराका साथ मनाइएको हो ।

सम्बन्धित समाचार

विपद्को जोखिम देखिए मोबाइलमै बज्नेछ साइरन, स्वदेशमै बन्यो प्रविधि

बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्को जोखिममा रहेका नागरिकलाई मोबाइलमार्फत तत्काल चेतावनी दिने प्रविधि नेपालमै विकास गरिएको छ। सरकारले विकास गरेको ‘सेल ब्रोडकास्ट प्रणाली’को प्रार…

भीमफेदी दुर्घटनाको प्रतिवेदन : ४९ घण्टामा करिब ३४ घण्टा यात्रा, ११ सिटको ईभीमा २० जना

भीमफेदीमा १४ जनाको ज्यान गएको ईभी दुर्घटनाको छानबिन प्रतिवेदनले चालकको लगातार लामो यात्रा र पर्याप्त विश्रामको अभावलाई सम्भावित कारण मानेको छ। ११ जनाको क्षमता भएको गाडीमा २० जना सव…

इन्फो नेपाल संवाददाता

English

Sonam Lhosar: Festival of Tamang

Different types of cultural festivals are celebrated in Nepal. Lhosar is one of them, and it is the new year of the Sherpa, Tamang, Gurung, Dura, Lepcha and Bhote communities. Ther…

Info Nepal

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी