धनकुटा / कोशी प्रदेश कै चर्चित पर्यटकिय क्षेत्र भेडेटारमा अंग्रेजी नयाँ बर्ष २०२४ को अबसरमा आइतबारबाट सुरु भएको तीन दिने खाना महोत्सव सम्पन्न भएको छ ।
होटल एसोसिएसन भेडेटारले आयोजना गरेको खाना महोत्सव अंग्रेजी नयाँ बर्षको अवसर पारेर गरिएको थियो । महोत्सवमा स्थानीय खानाका परिकार, अर्गानिक खेतीवाट उत्पादित तरकारी तथा फलफूलको प्रदर्शनी, हस्तकला, कृषि तथा घरेलु उत्पादन स्टल रहेका थिए ।
भेडेटारका होटलहरुमा फेस्टिवल अवधिभर खाना तथा लजमा २० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको थियो । होटल एशोसिएसन भेडेटारले हरेक वर्ष फेस्टिवलको आयोजना गर्दै आइरहेको छ ।
महोत्सवमा करिब एक करोड बराबरको कारोबार भएको आयोजक संस्थाका अध्यक्ष तुमराज लिम्बूले जानकारी दिए । हरेक वर्षझैँ महोत्सवमा भारतको विहारलगायत पूर्वी तराईबाट पर्यटक भेडेटार आइपुगेका छन् । कोशी प्रदेशको पर्यटन तथा वन वातावरणमन्त्री गणेशप्रसाद उप्रेतीले महोत्सवको उद्घाटन गरेका थिए ।