अर्थ व्यापारअलैँची खेतीले बदल्यो बागलुङका किसानको भविष्य, एक वर्षमै छ करोड आम्दानी

अलैँची खेतीले बदल्यो बागलुङका किसानको भविष्य, एक वर्षमै छ करोड आम्दानी

बागलुङ। पहाडी माटो, उर्वर भूमि, अनि मेहनती किसान। यही माटोले वर्षौँदेखि बागलुङका कृषकहरूलाई अन्न फलाउँदै आएको छ। तर, पछिल्ला वर्षहरूमा यहाँका किसानहरू परम्परागत खेती छोडेर व्यावसायिक अलैँचीखेतीतर्फ आकर्षित भइरहेका छन्।

गत वर्ष मात्रै बागलुङमा ४८ मेट्रिक टन अलैँची उत्पादन भएको थियो। कृषि ज्ञान केन्द्रका अनुसार किसानहरूले अलैँची बिक्रीबाट करिब छ करोड रुपैयाँ भित्र्याउन सफल भएका छन्। आर्थिक रूपमा फाइदाजनक भएकाले जिल्लाभर अलैँची खेती विस्तार भइरहेको छ।

बागलुङको जैमिनी नगरपालिका वडा नं. २ का बलिभद्र सापकोटा पहिलेदेखि नै अलैँची खेतीमा संलग्न छन्। सुरूमा उनले सानो जमिनमा परीक्षणका रूपमा अलैँची रोपेका थिए। “पहिला अलैँची खेती राम्रो हुन्छ भन्ने सुनेको मात्र थिएँ,” उनले सम्झिए, “तर जब उत्पादन राम्रो आउन थाल्यो, त्यसपछि अलैँची खेती नै मेरो मुख्य आम्दानीको स्रोत बन्यो।”

तर, यहाँका कृषकहरू अन्य जिल्लाका तुलनामा कम मूल्यमा अलैँची बिक्री गर्न बाध्य छन्। बलिभद्रका अनुसार बागलुङका किसानहरूले प्रतिकेजी १२ सय  ५० रुपैयाँका दरले अलैँची बेच्नुपरिरहेको छ, जुन अन्य जिल्लाको तुलनामा कम हो।

अलैँची खेती एकपटक सुरू गरेपछि करिब १० वर्षसम्म उत्पादन दिने भएकाले यहाँका किसानहरू अलैँचीखेतीमा आकर्षित भएका छन्। “पहिले मकै, कोदो रोप्थेँ, तर मेहनत अनुसार आम्दानी हुँदैनथ्यो,” जैमिनीका अर्का किसान रमेश बुढाथोकीले भने, “अलैँची खेतीपछि जीवन फेरिएको छ।”

कृषि ज्ञान केन्द्रका अनुसार आर्थिक वर्ष २०७८/७९ मा बागलुङमा १ सय २८ हेक्टर जमिनमा अलैँचीखेती गरिएको थियो। त्यसबेला ४२ मेट्रिक टन उत्पादन भएको थियो। प्रतिकेजी ९ सय ५० रुपैयाँको दरले बिक्री हुँदा किसानहरूले करिब चार करोड रुपैयाँ आम्दानी गरेका थिए।

तर, सबै समय एकनास हुँदैन। आर्थिक वर्ष २०७९/८० मा अलैँची खेती १ सय ३१ हेक्टरमा विस्तार भए पनि उत्पादन भने घटेर ३८ मेट्रिक टन मात्र रह्यो। “अलैँची राम्रो फल्दै थियो,” बलिभद्रले सुनाए, “तर अकस्मात् फेद कुहिन थाल्यो, पात-डाँठ सुक्न थाल्यो। रोग लागेपछि धेरै बोटहरू नष्ट भए।”

यसै रोगका कारण किसानहरूले सोचेअनुसारको उत्पादन गर्न सकेनन्। कृषि विज्ञहरूका अनुसार फेद कुहिने रोग र पात सुक्ने समस्याका कारण उत्पादनमा गिरावट आएको हो।

चालु आर्थिक वर्षमा भने किसानहरूले अलैँची बिक्री गरिसकेका छन्। कतिको कारोबार भयो भन्ने बारे यकिन तथ्याङ्क सङ्कलनको काम भइरहेको कृषि ज्ञान केन्द्रले जनाएको छ। बाली संरक्षण अधिकृत तथा कृषि ज्ञान केन्द्रका सूचना अधिकारी सन्तोष अधिकारीका अनुसार यस वर्ष बागलुङ जिल्लामा १ सय ४० हेक्टर जमिनमा अलैँचीखेती विस्तार भएको छ।

“९६ हेक्टर जमिनमा लगाइएको अलैँची उत्पादन दिन थालेको छ,” अधिकारीले जानकारी दिए। उत्पादन बढेसँगै किसानहरूको उत्साह झन् बढेको छ।

बागलुङका १० स्थानीय तहमध्ये आठलाई समेटेर ‘अलैँचीजोन’ निर्माण गरिएको छ। यस वर्षदेखि जोन स्थापनाको कार्यक्रम स्वीकृत भई कार्यान्वयन सुरू गरिएको छ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ बागलुङका निमित्त वरिष्ठ कृषि अधिकृत नारायण पौडेलका अनुसार १२ वटा अलैँची पकेट क्षेत्र र दुईवटा अलैँची ब्लक समेटेर जोन निर्माण गरिएको हो।

बागलुङको ताराखोला, काठेखोला, बडिगाड गाउँपालिका, बरेङ र निसीखोला गाउँपालिका तथा बागलुङ, जैमिनी र गलकोट नगरपालिकाका विभिन्न स्थानमा अलैँची उत्पादन हुँदै आएको छ।

कृषकहरूले उत्पादन गरेको अलैँची गुणस्तरअनुसार फरक मूल्यमा बिक्री गर्छन्। “राम्रो अलैँची छनोट गर्न सकियो भने बजारमा राम्रो मूल्य पाइन्छ,” बलिभद्रले अनुभव सुनाए।

उनका अनुसार राम्रो व्यवस्थापन गर्न सके, अलैँची खेतीले किसानहरूलाई आर्थिक रूपमा बलियो बनाउन सक्छ। “अब सरकारको थप सहयोग पाइयो भने हामी अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्छौँ,” उनले भने।

बागलुङका किसानहरूका लागि अलैँची खेती केवल जीविकोपार्जनको माध्यम मात्र होइन, यो समृद्धिको बाटोसमेत बनिरहेको छ।

एक दशकअघि सामान्य रूपमा गरिएको अलैँचीखेती अहिले जिल्लाका प्रमुख व्यावसायिक कृषि उत्पादनमध्ये एक बनेको छ। सरकार, कृषि ज्ञान केन्द्र तथा स्थानीय निकायहरूले प्रवर्द्धन गर्न सके, बागलुङको अलैँची नेपालकै उत्कृष्ट उत्पादन बन्नेछ।  “पहिले खेतिपाती गर्दा बाँच्न धौधौ थियो, अहिले भने भविष्य सुरक्षित भएको महसुस गर्छु,” बलिभद्रले भने। “अलैँचीले हाम्रो जीवन बदल्नेछ।”

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

Ads
Sidebar 3

ताजा समाचार

spot_img