भोजपुर | भोजपुरको पूर्वी अरुण गाउँपालिकाले फालिटार–बतासे–याकु सडकखण्डको निर्माण कार्यको निरीक्षण सम्पन्न गरेको छ। सडकको अवस्था बुझ्न र निर्माणको गुणस्तर सुनिश्चित गर्न गरिएको यस निरीक्षण कार्यक्रममा गाउँपालिका अध्यक्ष शालिकरामा खत्री, उपाध्यक्ष बिनिता ढकाल, वडा नं. ५ का जनप्रतिनिधिहरू, निर्माण कम्पनीका प्रतिनिधिहरू र स्थानीय बासिन्दाहरूको उपस्थिति रहेको थियो।
स्थानीय बासिन्दाले सदरमुकामसम्म पुग्नका लागि लामो दुरी पैदल हिँड्नुपर्ने समस्यालाई मध्यनजर गर्दै यो सडक निर्माणलाई प्राथमिकता दिइएको गाउँपालिकाले जनाएको छ। सडक निर्माणपछि स्थानीयको दैनिक यात्रा सहज हुने, कृषि उत्पादनलाई बजारसम्म पुर्याउन सजिलो हुने, व्यापार–व्यवसाय फस्टाउने र संचार–यातायातमा सुधार आउने अपेक्षा गरिएको छ।
सडक निर्माणको जिम्मेवारी हरेलो कन्स्ट्रक्सन एण्ड ट्रेडर्स प्रा.लि. लाई दिइएको छ। कुल लागत १ करोड २० लाख रुपैयाँ रहेको यस परियोजनामा अरुण गाउँपालिकाले १ करोड रुपैयाँ र वडा नं. ५ कार्यालयले २० लाख रुपैयाँको योगदान गरेको छ। निर्माण कम्पनीका प्रतिनिधिहरूका अनुसार कामलाई यथासक्य छिटो सम्पन्न गराउने लक्ष्य राखिएको छ र चालू आर्थिक वर्षको अन्त्यसम्ममा सडक निर्माण पूरा हुने अपेक्षा गरिएको छ।
निरीक्षणका क्रममा गाउँपालिका अध्यक्ष शालिकरामा खत्रीले पालिकाले सडक पूर्वाधार निर्माणलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताए। उनले भने, “हाम्रो मुख्य उद्देश्य यातायातलाई सहज बनाउनु हो। सदरमुकामसम्म सहज पहुँच नभए गाउँका मानिसहरूलाई शिक्षादेखि स्वास्थ्य सेवासम्म अप्ठ्यारो हुन्छ। सडक राम्रो भए स्थानीय उत्पादनहरू बजारसम्म पुर्याउन सहज हुन्छ, व्यापारिक गतिविधि बढ्छ, रोजगारीका अवसरहरू सिर्जना हुन्छन्। त्यसैले यो परियोजनालाई सफल बनाउन हामी लागिपरेका छौँ।”
स्थानीय कृषक धनबहादुर राईले भने, “पहिले हामीले उत्पादन गरेका अन्न, तरकारी वा फलफूल सदरमुकाम पुर्याउन निकै समस्या हुन्थ्यो। गाडी नपुग्ने भएकाले धेरै जसो उत्पादन यही गाउँमा खपत गर्नुपथ्र्यो, तर अब सडक बनेपछि बजारसम्म लैजान सजिलो हुन्छ।”
स्थानीय बासिन्दाहरूले पनि यो आयोजनालाई सकारात्मक रूपमा लिएका छन्। धेरै वर्षदेखिको सपना पूरा हुन लागेको भन्दै उनीहरू उत्साहित छन्। यातायात सहज भएपछि गाउँका युवाहरूलाई रोजगारी खोज्न टाढा जानुपर्ने अवस्था पनि केही हदसम्म कम हुने उनीहरूको आशा छ।
गाउँपालिकाले अरू वडाहरूसँग पनि सदरमुकाम जोड्ने योजनाहरू अगाडि बढाइरहेको जनाएको छ। विभिन्न भौगोलिक कठिनाइका बाबजुद पालिका र वडा कार्यालयहरूको सहकार्यमा सडक निर्माणलाई निरन्तरता दिइने अध्यक्ष खत्रीले बताए।
निर्माण कम्पनीका प्रतिनिधिहरूले पनि निर्धारित समयभित्र नै काम सम्पन्न गर्न आफूहरू प्रतिवद्ध रहेको बताए। गुणस्तरीय सामग्री प्रयोग गर्दै सडकलाई दीर्घकालीन रूपमा टिकाउ बनाउने लक्ष्य राखिएको छ।



