हेटौँडा | मकवानपुरगढी गाउँपालिका–५ स्थित शारदा माध्यमिक विद्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा शतप्रतिशत सफलता हासिल गरेपछि विद्यालयले मंगलबार विजय उत्सव आयोजना गरेको छ।
विद्यालयका अनुसार परीक्षा दिएका सबै २५ जना विद्यार्थी सफल भएका छन्। सो उपलब्धिको सम्मानस्वरूप विद्यालयले स्थानीयस्तरमा र्याली र सम्मान कार्यक्रम आयोजना गरेको हो।
विजय र्याली विद्यालयबाट सुरु भई सिमलटार र भालुखोला हुँदै पुनः विद्यालयमै समापन गरिएको थियो। कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक, स्थानीय बासिन्दा र जनप्रतिनिधिको उपस्थिति थियो।
विद्यालयले परीक्षा परिणाममा उत्कृष्टता हासिल गर्ने विद्यार्थीलाई नगद पुरस्कारसहित सम्मान गरेको छ। उत्कृष्ट नतिजा ल्याउने एक जनालाई १० हजार र अन्य सबैलाई जनही ३ हजार प्रदान गरिएको विद्यालयले जनाएको छ। साथै, हेटौँडा स्कूल अफ म्यानेजमेन्ट अफ साइन्सका प्रतिनिधि पुरन बहादुर जोशीले सबै विद्यार्थीका लागि जनही २ हजार ५०० थप सम्मान राशिको घोषणा गरेका छन्।
सोही कार्यक्रममा विद्यालयमा कार्यरत शिक्षकहरूलाई समेत सम्मान गरिएको थियो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष युवराज सापकोटाको अध्यक्षता थियो भने मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्यातान प्रमुख अतिथि थिए। कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुदन लामिछाने, विद्यालय सल्लाहकार विदुर हुमागाई, वडा अध्यक्ष दिपेश दहाल लगायतका अतिथि सहभागी थिए।
विद्यालयले यस्तो सफलता पहिलो पटक हासिल गरेको हो । स्थानीय तहमा यस विद्यालयको सफलता ‘सकारात्मक उदाहरण’का रूपमा हेरिएको छ।



